‘भारत गौरव पर्यटक रेल’ आज जनकपुर आउँदै
९ असार, काठमाडौं । रामायण यात्राका लागि भारतीय रेल आज जनकपुर आउँदैछ।
नयाँ दिल्लीबाट पर्यटक लिएर ‘भारत गौरव पर्यटक रेल’ दिउँसो जनकपुर स्टेशनमा आइपुग्ने छ।
६ सय धार्मिक पर्यटक लिएर दिउँसो साढे १ बजे भारतीय रेल आइपुग्ने मधेश प्रदेशका उद्योग, वन पर्यटन तथा वातावरणमन्त्री शधुधन महतोले जानकारी दिए।
उनका अनुसार पर्यटकलाई स्वागतका लागि मुख्यमन्त्री लालबाबु राउत, मन्त्रीलगायत विशिष्ट व्यक्ति रेल्वे स्टेशन पुग्नेछन् । त्यहाँबाट पर्यटकलाई होटेलसम्म पुर्याइनेछ। खाना खाएपछि उनीहरूलाई जानकी मन्दिर दर्शन गराइनेछ।
पर्यटकको सम्मानमा जानकी मन्दिर परिसरमा सांस्कृतिक कार्यक्रम राखिएको छ। उनीहरूलाई साँझ जनकपुरमा दैनिक हुने गंगा आरतीमा सहभागी गराइनेछ । भोलि धनुषाधाम दर्शनपछि पर्यटक फर्किने कार्यक्रम रहेको मन्त्री महतोले बताए।
परराष्ट्र मन्त्रालयबाट आएको पत्रअनुसार पर्यटक लक्षित गरी नेपाल भारत सीमा र जनकपुरमा विशेष सुरक्षा अपनाइएको छ।
भारतका रेल र पर्यटन मन्त्रीले मंगलबार साँझ ७ बजे संयुक्त रूपमा नयाँदिल्लीबाट जनकपुर प्रस्थान गरेका रेल बिदाइ गरेका थिए ।
१४ डिब्बा रहेको उक्त रेलको प्रत्येक बोगीमा भारतीय कला, संस्कृति, परम्परा, सम्पदालगायत चित्र छन्।
प्रतिक्रिया दिनुहोस्