भारतमा लोकसभा चुनाव अन्तर्गत पहिलो चरणको मतदान सुरु
भारतमा लोकसभा चुनाव अन्तर्गत पहिलो चरणको मतदान शुक्रवार बिहान सात बजेबाट सुरु भएको छ।
सात चरणमा हुने यो निर्वाचन अन्तर्गत पहिलो चरणमा १०२ सिटका लागि मतदान हुन लागेको हो।
दशौँ लाख मानिसहरूले चुनावमा मत खसाल्ने ठानिएको छ।
जून १ तारिखसम्म चल्ने मतदानका लागि झन्डै १ अर्ब मानिसहरू भोट खसाल्न योग्य छन् र यो
निर्वाचनलाई संसारकै हालसम्मको सबैभन्दा ठूलो चुनाव भनिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि चुनिने लक्ष्य राखेका छन्।
मोदीलाई चुनौती दिन कैयौँ विपक्षी दलहरूले मिलेर गठबन्धन बनाएका छन्।
चुनावको परिणाम जून ४ मा घोषणा गरिनेछ।
चुनावको महत्त्व के छ?
भारतको संसद् दुई सदनात्मक छ। तल्लो सदनलाई लोकसभा र माथिल्लो सदनलाई राज्यसभा भन्ने गरिएको छ।
शुक्रवार लोकसभाका सदस्यहरू चुन्नका लागि मतदान हुन लागेको हो। भारतमा बसोबास गरिरहेका १८ वर्ष वा सोभन्दा माथिको उमेरका व्यक्तिहरू मत दिनका लागि योग्य छन्। चुनाव जित्नका लागि गठबन्धनलाई ५ सय ४३ सदस्य रहेको सदनमा २७२ सीट आवश्यक पर्छ।
अघिल्लो चुनावमा प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी (बीजेपी) ले ३०३ सिट ल्याएको थियो। अहिले उसले लगातार तेस्रो कार्यकाल निर्वाचित हुने लक्ष्य लिएको छ।
कंग्रेससहित दूई दर्जनभन्दा बढी दल मिलेर इन्डिया गठबन्धन निर्माण गरेका छन् र उनीहरूले मोदीलाई चुनौती दिइरहेका छन्।
सन् २०१४ मा बीजेपीको उदय हुनुअघि ६० वर्षसम्म भारतको राजनीतिमा कंग्रेसको दबदबा थियो।
प्रतिक्रिया दिनुहोस्