बौधिमाईको ईनरवारी स्वास्थ्य चौकीमा सेवाग्राहीसँग गैरकानूनी ढङ्गले रकम असुली


मेवालाल यादव , रौतहट ।
भदौँ ०८गते , सनिवार ।
बौधिमाई नगरपालिकाको वडा नं. ४ ईनरवारीमा रहेको स्वास्थ्य चौकीमा सेवाग्राहीहरूसँग गैरकानूनी ढङ्गले रकम असुली गरिएको गम्भीर आरोप सार्वजनिक भएको छ। स्थानीय वडा नं. ५ कोपवा निवासी राज किशोर यादवले स्वास्थ्य चौकीमा रगत र पिसाब ल्याब टेस्ट गराउन पुगेका बेला त्यहाँका ल्याब टेक्निसियन संजीप यादवले अवैध रुपमा अतिरिक्त रकम असुलेको दावी गरेका छन्।

राज किशोर यादवले बताए अनुसार, ल्याब टेक्निसियन संजीप यादव भन्ने संजय कुमार यादवले परीक्षणको लागि निर्धारित शुल्क भन्दा बढी रकम माग गरेका थिए। उनले भने, “स्वास्थ्य चौकीमा सेवा लिन जाँदा सरकारी मापदण्ड अनुसारको शुल्क तिर्नुपर्ने हो, तर ल्याब टेक्निसियनले त्यसको दोब्बर बढी रकम मागे। जब मैले यसबारे प्रश्न उठाएँ, उनले मलाई धम्क्याउँदै पैसा नतिरेको खण्डमा सेवा नदिने बताए।”

frontline

यो घटनापछि, राज किशोर यादवले स्थानीय जनप्रतिनिधि र नगरपालिकाका अधिकारीहरूसँग गुनासो गरेका थिए। तर, समस्या समाधानको सट्टा उनलाई थप धम्कीहरूको सामना गर्नुपर्‍यो। ईनरवारी निवासी विध्यानन्द प्रसाद यादव, जो नगरपालिकासँग नजिकको सम्बन्ध रहेको बताइन्छ, उनले राज किशोर यादवलाई नगरपालिकाको धाक देखाउँदै निहु खोज्न थालेको आरोप लगाइएको छ। विध्यानन्दले कुटपिट गर्ने, अंगभंग गर्ने धम्की समेत दिएका छन्।

यस घटनाले बौधिमाई नगरपालिकाको स्वास्थ्य सेवामा रहेको मनोमानी र भ्रष्टाचारको गम्भीर स्थिति उजागर गरेको छ। स्वास्थ्य चौकी जस्तो अत्यावश्यक सेवामा यस प्रकारको गैरकानूनी गतिविधि हुनु सेवाग्राहीहरूप्रति अन्यायपूर्ण र अस्वीकार्य रहेको पीडित राज किशोर यादवको भनाइ छ।

यादवले उक्त घटनाबारे सम्बन्धित निकायहरूमा औपचारिक उजुरी दिएका छन् भने दोषीलाई कानूनी कारबाहीको माग गरेका छन्। यस घटनाले बौधिमाई नगरपालिकाको स्वास्थ्य सेवा प्रणालीको पारदर्शिता र विश्वसनीयतामा गम्भीर प्रश्न उठाएको छ।
अब यस घटनाप्रति नगरपालिका र स्वास्थ्य विभागले कस्तो कदम चाल्नेछ भन्ने चासोको विषय बनेको छ। सेवाग्राहीहरूले भने यस्ता घटनाले स्वास्थ्य सेवाप्रति जनताको विश्वास गुम्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

poster-here