बौद्ध घटना: अझै ‘अनडिटरमाइन्ड’

खुट्टा, २० वर्षभन्दा माथिको महिलाको हुनुको आधार बलियो, डिएनए परीक्षण हुने

काठमाडौं। गत साता काठमाडौंको बौद्धमा बोराभित्र भेटिएको खुट्टाको पोष्टमार्टम सकेर काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले प्रहरीलाई रिपोर्ट बुझाएको छ।

शरीरको खुट्टामात्रै भेटिएको हुँदा रिपोर्टमा अहिले ‘अनडिटरमाइन्ड’ भनिएको छ। यद्यपी यसबाट केही कुरा भने खुलेका छन्।

frontline

गत मंगलबार बिहान काठमाडौं महानगरपालिका-६ बौद्ध प्लानिङ क्षेत्रमा फेला परेको शवको खुट्टाको अध्ययन गर्न प्रहरीले सोही दिन शिक्षण अस्पतालमा पठाएको थियो। यसको अध्ययन त्रिविका फरेन्सिक विज्ञ गोपाल चौधरीले गरेका थिए।

उनले गरेको अध्ययनअनुसार दाबी साथ भन्न नसकिए पनि खुट्टा महिला हुनुको आधार बलियो देखिएको छ। त्यस्तै त्यो खुट्टा वयस्क, २० वर्षभन्दा माथिको भएको डाक्टर चौधरीले बताए।

प्रहरीले घटनास्थलबाट दुई वटै खुट्टाको भाग भेटाएको थियो। घटनास्थलमा एउटा खुट्टामात्रै देखिएको थियो। तर बोराभित्र भने देब्रे खुट्टाको फिबुला हड्डी पनि भेटिएको डाक्टर चौधरीले जानकारी दिए।

सुरूमा एउटै खुट्टाको हड्डी भन्ने सोचिए पनि अध्ययन गर्दा दुई वटै खुट्टाको भाग भेटिएको उनले बताए।   

‘जुन खुट्टा भेटिएको छ। त्यसमा बाँकी भएका हड्डीको जाँच गर्दा हामीले ठ्याक्कै भन्न त सकेनौं। ‘फिबुला’ हड्डीमात्रै भएको भएर हामीले डिएनएबाट अध्ययन गर्नु भनेर सुझाव दियौं,’ डा. गौतमले भने,’तर त्यो हड्डीको बनोटचाहिँ महिलासँग मिल्ने देखिन्छ।’

टाउको वा नाइटो तल हुने हड्डी भएको भए दाबी साथ महिला वा पुरूष भन्ने सजिलै छुट्याउन सकिने तर खुट्टाको भएकाले डिएनए नै गर्नुपर्ने उनको भनाइ छ।

अहिले यससम्बन्धी महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखा दुबैको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ।

डिएनए परीक्षण गर्न ती खुट्टा त्रिवि शिक्षण अस्पतालबाट सामाखुसीस्थित सेन्ट्रल फरेन्सिक पुलिस साइन्स ल्याबमा पठाइएको छ।

‘डिएनएबाट गर्‍यो भने महिला हो वा पुरूष ठ्याक्कै थाहा हुन्छ। अनुसन्धान गर्दा पनि कोही हराएका व्यक्तिको अभिभावकको डिएनएसँग जोडेर हेर्‍यौं भने सहज हुन्छ,’ फरेन्सिक डाक्टर चौधरीले भने।  

यसरी प्रष्ट रूपमा सबै कुरा नखुल्दा प्रहरी अनुसन्धानमा पनि प्रभाव परेको देखिएको छ।

महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङले पनि अहिले सबै कुरा नखुलेको बताए।

उनले अनुसन्धानबाट अहिले हत्या नै भएको हो वा होइन भन्नेमा पनि प्रश्न उठेको बताएका छन्। एकातिर हत्या गरिएको हुनसक्ने, अर्कोतिर मृत्यु भइसकेका व्यक्तिको हड्डीका लागि काटिएको हुनसक्ने पाटोबाट प्रहरीले अनुसन्धान गरिरहेको छ। 

‘खुट्टा पनि खुर्किएको जस्तो देखिएको छ। कसैले हत्या गरेको हो भने खुट्टा खुर्केर त बस्दैन। त्यो हिसाबले यो आफैं मृत्यु भएको हो कि भन्ने पनि छ।

कहीँ गाडेको वा राम्ररी व्यवस्थापन नभएको ठाउँबाट खुट्टा काटेर हड्डी फुक्न निकाल्छन् नि, त्यसकै प्रयोजनको लागि पनि हुनसक्ने भनेर हामीले विश्लेषण गरेका छौं,’ उनले भने, ‘मान्छेले हत्या गरेर खुर्किएर बस्ने अवस्था हुन्न, भ्याउँदैन।

हतार हतारमा व्यवस्थापन गर्नतिर लाग्छ।’

चिकित्सक र प्रहरीको संयुक्त रूपमा गरिएको अनुसन्धानको आधारमा यो विश्लेषण भएको खापुङले बताए।

त्यसरी हड्डीकै लागि मानिसको हत्या हुने सम्भावना कम भएको पनि उनले बताए।

प्रहरीले  किन र कसले ती खुट्टा बोरामा राख्यो भन्ने अनुसन्धान गरिरहेको छ। 

‘हामीले यसका उत्तर खोजिरहेका छौं। अनुसन्धानका विभिन्न विश्लेषण भए पनि नसल्टिउञ्जेल अघि नबढेकै भन्नुपर्छ,’ उनले भने, ‘हामीले घटनास्थलबाट ब्लेडजस्तो हतियार पनि भेटाएका छौं। त्यसैले पनि खुर्केको हो कि भन्ने भएको हो।’

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले पनि हड्डी फुक्नेहरूले नै राखेको हुनसक्ने बताए।

‘यो खुट्टा जस्तो अवस्थामा भेटिएको छ, त्यो हेर्दा लामाहरूले बजाउनको लागि मान्छेको हड्डीको प्रयोग गर्छ। त्यो हिसाबले कहीँ जलाएको ठाउँबाट निकालियो हो कि गाडेको ठाउँबाट हो कि,’ एसएसपी सिंहले भने,’खुट्टा परालमा पनि पोको पारिएको अवस्थामा भेटिएको हुँदा हामीले त्यसतर्फ पनि केन्द्रित भएर अनुसन्धान अघि बढाएका छौं।’

प्रहरी अधिकृतहरूको भनाइबारे हामीले फरेन्सिक विज्ञ डाक्टर गोपाल चौधरीलाई पनि सोध्यौं।

उनका अनुसार दुबै खुट्टाको घुँडामुनि हुने ‘टिबिया’ हड्डी निकालिएको भेटिएको छ।

‘कसैले दुई वटै टिबिया हड्डी अचम्म तरिकाले निकालिएको देखिन्छ। टुक्राएरमात्रै छाडेको भए दुई वटै हड्डी हुनुपर्ने हो। तर खुट्टा चिरेर दुबै खुट्टाको टिबिया हड्डी निकालिएको छ,’ उनले भने, ‘यही हड्डीकै लागि काटिएको पनि देखियो।’

उनले थपे,’अहिलेको समयमा त होला/नहोला तर पोष्टमार्टम गर्दा मलाई पनि  तान्त्रिकहरूले प्रयोग गर्न पो हो कि भन्ने लाग्यो।’

यो हड्डी लगभग १० देखि १२ इन्च जति लामो छ।

एसएसपी सिंहले  बुधबार बिहान पनि घटनास्थलभन्दा करिब ७ सय मिटर पर केही मासु भेटिएको बताए।

उनका अनुसार त्यो मासु पनि यही घटनासँग सम्बन्धित छ। 

श्रोत : ईन्टरनेट

‘सानो टुक्रा फेला परेको हो। खुट्टा फाल्ने नै त्यहाँ फालेको हुनसक्छ,’ उनले भने, ‘हामीले अहिले यसमा व्यापक अनुसन्धान गरिरहेका छौं। सबै कुरा बाहिर ल्याउने कुरा पनि हुन्न। खानतलासी गर्ने, सोधपुछ गर्ने काम गरिरहेका छौं। अनुसन्धानका सबै पाटो बाहिर ल्याउने कुरा हुन्न।’

त्यस्तै, प्रहरीले अनुसन्धान गर्दा घटनास्थल वरिपरिका सिसिटिभी फुटेजहरू पनि हेरेको छ। त्यसको आधारमा केही व्यक्तिहरूमाथि शंका गरेको छ।

उनका अनुसार अहिले चार जना व्यक्ति शंकाको घेरामा छन्। चार जना व्यक्तिलाई प्रहरीले शंकास्पद रूपमा हिँडिरहेको सिसिटिभी फुटेजमा देखेको हुँदा तिनीहरूको संलग्नता छ वा छैन भन्नेबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

राति भएको हुँदा ती व्यक्तिहरू को हुन् भन्ने पहिचान नभएको एसएसपी खापुङले बताए।

‘रातिको कुरा भएको हुनाले प्रष्ट देखिएको छैन। हो कि होइन भन्ने छ। चार जनामाथि शंका लागेको छ,’ उनले भने, ‘त्यो क्षेत्रमा सोही जिउडाल भएका व्यक्तिहरू छन् कि भन्ने पनि खोजिरहेका छौं।’

प्रहरीले योसँगै हराएका व्यक्तिहरूको पहिचान गरेर पनि अनुसन्धान अघि बढाएको छ। सुरूमा प्रहरीले एक जना हराएका व्यक्तिलाई अनुमान गरी अनुसन्धान अघि बढाएको थियो।

तर पछि खोज्दै जाँदा ती व्यक्ति जीवितै फेला परेको सिंहले बताए।

‘हराएका व्यक्तिको पनि कुनै उजुरी छैन। एउटा मान्छे हराएको भनेर हामीले खोज्न थालेका थियौं। तथ्यहरू पनि मिल्दोजुल्दो थियो,’ उनले भने,’भरे मान्छे नै भेटियो।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here