बैंककस्थित नेपाली दूतावासमा संविधान दिवस, प्रवासीका मुद्दाबारे वहस

बैंकक, थाइल्याण्ड । नेपाल दूतावास बैंककले एघारौँ संविधान दिवस भव्य रूपमा सम्पन्न गरेको छ ।

कार्यक्रममा महामहिम नेपाली राजदूत धनबहादुर ओलीले नेपालको राष्ट्रपतिबाट प्राप्त संविधान दिवसको शुभकामना सन्देश वाचन गरे ।

frontline

उनले संविधानले नेपाली जनताको लामो संघर्ष र आकांक्षालाई प्रतिविम्बित गरेको बताउँदै यसलाई व्यवहारमा उतार्न सबै नेपाली एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा थाइल्याण्डमा बसोबास गर्ने नेपालीहरूको ठूलो उपस्थिति रह्यो । विभिन्न पेशा, व्यवसाय र अध्ययनमा संलग्न नेपालीहरूले संविधान दिवसको अवसरमा एकै ठाउँ भेला भएर विचार–विमर्श गरिएको हो ।

सहभागीहरूले संविधानले दिएको अधिकार र कर्तव्य, नेपालको वर्तमान राजनीतिक तथा सामाजिक अवस्थाबारे चर्चागरे र संविधानको सफल कार्यान्वयनमा प्रवासी नेपालीहरूको भूमिकाबारे गहिरो छलफल गरिएको छ ।

राजदूत ओलीले नेपाल अहिले विशेष परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै सबैले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्नेमा जोड दिए ।

उनले संविधान दिवसजस्ता अवसरहरूले प्रवासी नेपालीलाई मातृभूमिसँग अझ नजिक ल्याउने र राष्ट्रिय भावनामा जोड्ने काम गर्ने विश्वास व्यक्त गरे ।

यस कार्यक्रममा जेन–जेड पुस्ताका नेपाली युवाहरूको समेत उल्लेखनीय उपस्थिति रह्यो । उनीहरूले नेपालको संविधान, लोकतान्त्रिक अभ्यास र भविष्यबारे आफ्ना धारणा राख्दै प्रवासी नेपाली युवाले नेपालको विकासमा योगदान दिन सक्ने विश्वास व्यक्त गरे। युवाहरूले नयाँ दृष्टिकोण प्रस्तुत गर्दै विदेशमा बसेर पनि मातृभूमिको हितका लागि सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

संविधान दिवसको यस अवसरले थाइल्याण्डमा रहेका नेपाली मात्र नभई सम्पूर्ण प्रवासी नेपाली समुदायलाई आपसी एकता, राष्ट्रिय दायित्वबोध र लोकतान्त्रिक मूल्यप्रति आस्था प्रकट गर्ने अवसर दिएको छ ।

नेपाल दूतावास बैंककले आयोजना गरेको यो कार्यक्रम प्रवासी नेपालीहरूको लागि प्रेरणादायी र राष्ट्रिय एकताको सन्देश फैलाउने ऐतिहासिक अवसर बनेको छ। विसं २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here