बेल्जियम चिडियाखानाका दुई जलगैँडामा कोरोना संक्रमण
१९ मंसिर, बेल्जियम । बेल्जियमको चिडियाखानामा रहेका दुई जलगैँडामा कोरोना संक्रमण पुष्टि भएको छ।
बेल्जियमको आन्ट्वर्प चिडियाखानामा रहेका इमानी र हर्मिन नाम गरेका ती जलगैँडामा संक्रमण पुष्टि भएको हो। उनीहरुको उमेर १४ र ४१ रहेको बताइएको छ।
चिडियाखानाका कर्मचारीका अनुसार उनीहरुमा कोरोना संक्रमण पुष्टि भए पनि लक्षण भने देखा परेको छैन।
‘नाकबाट सिँगान बग्नेबाहेक अन्य कुनै लक्षणहरू छैनन्। अन्यमा पनि संक्रमण नफैलियोस् भनेर सावधानीस्वरुप हामीले यी दुई जोडीलाई क्वारेन्टिनमा राखेका छौं,’ चिडियाखानका एक कर्मचारीले भने।
यता, चिडियाखानाका पशु चिकित्सक फ्रान्सिस भेर्कमेनले यो प्रजातिमा कोरोना संक्रमण पुष्टि भएको पहिलो घटना रहेको दाबी गरे।
‘मेरो जानकारी अनुसार यो प्रजातिमा यस्तो घटनामा भएको पहिलो पटक हो। विश्वका केही घटनालाई हेर्ने हो भने यो भाइरस मुख्यतया ठूला बाँदर र बिरालाहरूमा पुष्टि भएको थियो,’ उनले भने।
प्रतिक्रिया दिनुहोस्