बिर्तामोडको फर्निचर उद्योगमा लागेको आगो नियन्त्रणमा, एक जना घाइते
झापा : झापाको बिर्तामोडमा फर्निचर उद्योग तथा सोरुममा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ। आज बिहान १०:४५ बजे बिर्तामोड नगरपालिका-४ स्थित अन्नपूर्ण चोकमा हर्क सुब्बाले सञ्चालन गरेको देवी उडन फर्निचर फ्याक्ट्री एण्ड सोरुमबाट सल्किएको आगो करिब साढे दुई घण्टापछि नियन्त्रणमा आएको हो।
आगलागीका कारण सोही घरसँग जोडिएको कृष्णकुमारी राईको घरमा भाडामा बस्दै दिव्याश्री अग्रवालले सञ्चालन गर्दै आएको जय ट्रेड फर्निचर फ्याक्ट्री एण्ड सोरुममा समेत पूर्ण रूपमा क्षति भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। आगोको रापका कारण पछाडिपट्टि रहेका अन्य दुई वटा घरमा समेत सामान्य क्षति पुगेको छ।
आगलागीका क्रममा सामान निकाल्ने प्रयास गर्दा अर्जुनधारा नगरपालिका–३ का करिब ३९ वर्षीय तिलबहादुर रम्तेल घाइते भएका छन्। आगलागी भएको घरबाट सामान निकाल्ने क्रममा एक तला माथिबाट हाम फाल्दा उनको दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।






प्रतिक्रिया दिनुहोस्