‘बाढीले गर्दा एकमुठी खाने अन्नसमेत बचेन’ : मेलम्ची बासिको पिडा
मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ ।
छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका छन् । झट्ट हेर्दा भोकाएर निकै थकित भएजस्ता देखिन्छन् ।
ज्ञानेन्द्र मेलम्ची बजारका पुराना व्यापारीमध्येका एक हुन् ।
बजारमा उनको परिवारले खाद्यान्न स्टोरको व्यवसाय गर्दै आएको थियो ।
एक साताअघि मात्र करिब तीन सय बोरा चामल, चिउरा, आटालगायत खाद्यान्न गोदाममा भण्डारण गरेका थिए उनले ।
मंगलबार साँझको बाढीले उनले पाँचवटा सटरभित्र राखेका सम्पूर्ण खाद्यान्न नष्ट गर्यो ।
सुन्दा अनौठो लाग्छ, मेलम्चीकै ठूलो खाद्यान्न गोदामका मालिकसँग अहिले खाने चामल छैन । पकाउने सामल छैन ।
‘भान्सामा जहिले चाहियो त्यहीबेला मात्र दाल–चामल लाने गर्थ्यौं’ श्रेष्ठले भने, ‘बाढीले गर्दा व्यापार त सधैंलाई सकियो, एकमुठी खाने अन्नसमेत बचेन !’
बाढी आएको मंगलबार साँझ श्रीमती र छोरासहित उनी बजारदेखि माथि डाँडामा रहेको इन्द्रावती माध्यमिक विद्यालयमा बास बसे ।
के हुने हो भन्ने सन्त्रासमै उनीहरूको त्यो रात बित्यो । रातभरि टर्च बाल्दै पसल भएको ठाउँतिर हेरिरहे ।
भोलिपल्ट बिहान पसल भएको ठाउँसम्म खानेकुरा लिन गए उनी ।
तर मूल सडकभरि जमेको लेदो पानीले गर्दा सटरसम्म पुग्न सकेनन् ।
‘दुई दिनसम्म गोदाम भएको ठाउँमा आउनै सकिएन ।
आज घाम लागेर पानी सुक्न थालेपछि मात्र आएको हुँ’, भुइँमा बसेर बचेका खुद्रा सामान मिलाउँदै ज्ञानेन्द्रले बताए ।
तीन दिनदेखि ज्ञानेन्द्रको परिवारलाई भात–भान्साको कुनै परवाह छैन ।
भाडाको घरमा सञ्चालन गरेको गोदाम सम्पूर्ण रुपमा काम नलाग्ने भएसँगै परिवार विछिप्त भयो ।
अहिले अरूले नै राहतमा दिएको चाउचाउ, रोटी खाएर गोदाम सफा गर्न व्यस्त छन् उनीहरू ।
‘खुद्रा सामान बिग्रँदा त केही थिएन तर चामल र चिउरा सखाप भएको देख्दा मन थाम्न सकेनौं’, ज्ञानेन्द्र भिजेको ठूलो चिउराको बोरालाई लौरोले घोचेर देखाउँदै भने ।
कुराकानीका क्रममा उनी अर्का एक स्थानीय वृद्धसँग भक्कानिए ।
स्थानीय ज्येष्ठ नागरिक भीमप्रसाद दंगाल पनि खानेकुरा नासिएकोमा निकै दुःखमनाउ गर्दै थिए ।
दंगाल अन्न नष्ट हुनु निकै ठूलो अनिष्टको संकेत भएको बताउँदै ज्ञानेन्द्रलाई सान्त्वना दिँदै थिए ।
‘यत्रो गोदामका मालिकसँग आज आफैंले खाने सामल–तुमल छैन !’ भन्दै दंगाल अपशोच मान्दै थिए ।
ज्ञानेन्द्रका छोरा बालुवा थुप्रिएको गोदामबाट कोकाकोला, स्प्राइट र बियरका बोतल निकाल्न व्यस्त थिए ।
उनलाई स्थानीय केही युवाले सघाइरहेका थिए ।
भोको पेटमा हिलो पानीले ढाडिएका चिउरा र चामलका बोरा बाहिर निकालिरहेका उनीहरु एक–अर्का सँग बोलिरहेका थिएनन् ।
तर काम गर्दागर्दै घामले खरो भएपछि उनीहरूले गोदामको हिलोबाट निकालेको स्प्राइट पखालेर खान थाले ।
‘जसोतसो ज्यान बच्यो, अब जे खाएर भएपनि काम गर्न थाल्नुपर्छ’, चाउचाउ र स्प्राइट खाँदै २३ वर्षीय स्थानीय युवा बताइरहेका थिए ।
एकैछिनको विश्रामपछि उनीहरू साबेल र कोदालोले बालुवा खन्दै पुनः सटर फुटाउँदै सामान निकाल्न व्यस्त भए ।
५० लाखको खाद्यान्न नष्ट
ज्ञानेन्द्रका अनुसार उनको मुख्य व्यवसाय नै खाद्यान्न गोदाम हो ।
वरपरका खुद्रा पसलेलाई समेत उनले नै होलसेलमा सामान उपलब्ध गराउँथे ।
रोपाइँको समय आएकाले अरुबेला भन्दा दोब्बर खाद्यान्न मगाएर भण्डारण गरेको उनी सुनाउँछन् ।
तर आफैंलाई खानसमेत नपुग्ने गरी व्यापार डुबेकाले सम्हालिन नसक्ने स्थितिमा पुगेको छ ज्ञानेन्द्र र उनको परिवार ।
ज्ञानेन्द्रका अनुसार पाँचवटा कोठाको भौतिक सामान तथा खाद्यान गरी ५० लाख रुपैयाँभन्दा बढी क्षति भएको छ ।
२०७२ को भूकम्पले पुरानो घर भत्किएपछि यो परिवार पसल भएकै घरमा बस्दै आएको थियो ।
छोरा रमेशका अनुसार खाद्यान्नसँगै कुकिज, कुरमुरे, बियर, पेय पदार्थलगायत सामग्री पनि बाढीले पुरेको छ ।
चाउचाउ, बिस्कुटजस्ता सुख्खा खानेकुरा पनि हिलोले परेर ओसिइसकेको थियो ।
हिलो पखालेर सामान फिर्ता गर्न सकिन्छ कि भनेर उनी स्थानीय युवासँगै गोदाम खन्न व्यस्त थिए ।
बिक्री कक्षमा पनि पानी जमेकाले सबै सामानको बिल र खाता भिजेर चिन्न नसकिने भएको थियो ।
‘सामानको बिल र पसलका कागजपत्र पनि सबै बिगारेको छ’ हिलैहिलोको दलदलबाट उनले भने, ‘अब सप्लायर्ससँग कसरी हिसाब मिलाउने हो केही थाहा छैन !’
ज्ञानेन्द्रमात्र होइन स्थानीय एक दर्जन खुद्रा खाद्यान्न पसलमा समेत इन्द्रवती र मेलम्चीको बाढीले क्षति पुर्याएको छ ।
गेगर हिलो मिसिएको पानीले गर्दा पसलका अधिकांश सामान नष्ट भएका छन् ।
प्रतिक्रिया दिनुहोस्