बाजुरामा एक कोरोना संक्रमितको मृत्यु
२ माघ, बाजुरा । कोरोना संक्रमणको तेस्रो लहर फैलिएसँगै बाजुरामा एक जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी लेखनाथ न्यौपानेका अनुसार कोरोना संक्रमणका कारण जिल्लाको खप्तड छेडेदह गाउँपालिका–२ जयवागेश्वरीका ५२ वर्षीय बजिर बुढाको मृत्यु भएको हो ।
उनका अनुसार उपचारका लागि भारतमा गएका बुढाको गौरीफन्टा नाकामा चेक गर्दा संक्रमण पुष्टि भएको थियो ।
कोरोना देखिएपछि होम आइसोलेसनमा रहेका बुढाको आइतबार (आज) मृत्यु भएको सूचना अधिकारी न्यौपानेले बताए ।
स्वास्थ्य कार्यालय बाजुराका अनुसार बुढाको स्थानीयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर अन्तिम दाहसंस्कार गरेका छन् ।
मृतक बुढासँग आएका आफन्त होम आइसोलेसनमा बसेका छन् । बाजुरामा कोरोना संक्रमितको संख्या दैनिक रुपमा वृद्धि हुदै गएको छ ।
हाल जिल्लामा ११ जनामा कोरोना संक्रमण देखिएको छ । बडिमालिका नगरपालिकामा ८ जना, बुढीगंगामा १ जना र बुढीनन्दा नगरपालिकामा २ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालयल बाजुराले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्