बाघलाई नियन्त्रणमा लिन नसक्दा सर्वसाधारण त्रसित
२६ पुस, बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आतंक मच्चाइरहेको बाघलाई नियन्त्रणमा लिन नसक्दा सर्वसाधारण त्रसित बनेका छन्। बाघले दिनहुँ आतंक मच्चाइरहेको छ।
बाघले दुई दिनका अन्तरालमा राप्तीसोनारीमा दुई महिलाको ज्यान लिनुका साथै स्थानीयवासीलाई आक्रमण प्रयास गरेको जनाइएको छ।
राप्तीसोनारी –६ फत्तेपुर निवासी लालबहादुर थापाले बाघले विगत एक हप्तादेखि राप्तीपारीस्थित बैजापुर, बिनौना र फत्तेपुरको जङ्गलभित्र मान्छे र पशु चौपायामाथि निरन्तर आक्रमण गर्दै आएको बताए।
बाघको शृंखलाबद्ध आक्रमण नरोकिएपछि राप्तीपारीका स्थानीय अहिले निकै त्रसितमा छन्।
बाघको आक्रमणबाट शनिबार राप्तीसोनारी–६ फत्तेपुरकी २९ वर्षीया चादनी थारु र बिहीबार राप्तीसोनारी ४ पर्सोनाकी ५३ वर्षीया लिला विष्टको मृत्यु भएको थियो।
बाघको आक्रमणबाट बाँकेमा तीन महिनाभित्र चार जनाको ज्यान गइसकेको छ।
बाघको निगरानी गर्न बाँके राष्ट्रिय निकुञ्जले विगत तीन दिनदेखि राप्तीपारी क्षेत्रमा दुई हात्तीसहित कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरेको छ।
बाघले आतंक मच्चाइरहेको स्थान राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रअन्तर्गत पर्ने भएकाले डिभिजन वन कार्यालय बाँकेका कर्मचारी पनि परिचालित भएका छन्।
राप्तीसोनारी–५ का वडाध्यक्ष झगरु थारुले बाघलाई नियन्त्रणमा आउन नसक्दा सर्वसाधारणमा त्रास फैलिएको बताए।
अधिकांश जनता कृषि पेसामा आबद्ध रहेकाले वन, जङ्गलभित्र प्रवेश गर्नु उनीहरुको बाध्यता रहेको वडाध्यक्ष थारुको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्