बाग्मतीमा मन्त्रिपरिषद विस्तार हुँदै

२५ कार्तिक, हेटौंडा । बाग्मती प्रदेश सरकार बिहीबार विस्तार हुने भएको छ । स्रोतका अनुसार बिहीबार दुई जना मन्त्री थप गर्ने तयारी  छ । नेकपा (एकीकृत समाजवादी)ले नेतृत्व लिएको बाग्मती सरकारमा थपिने मन्त्रीमा माओवादीबाट पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल र नेपाली कांग्रेसबाट निमा लामा रहने छन् ।

राजेन्द्र पाण्डे नेतृत्वको सरकारमा यसअघि नै आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कृष्णप्रसाद शर्मा खनाल, भौतिक पूर्वाधार विकासमन्त्रीमा कृष्ण भँडेल र सामाजिक विकास मन्त्रीमा कुमारी मोक्तानले शपथ लिइसकेका छन् ।

frontline

११ कात्तिकमा शपथ लिएका मुख्यमन्त्री पाण्डेले २२ कात्तिकमा गठबन्धनका ५९ जना सांसदबाट विश्वासको मत प्राप्त गरेका थिए । विश्वासको मत प्राप्त गरेपछि सरकार विस्तार गर्ने तयारी भए पनि गठबन्धनभित्र मन्त्री बनाउने विषयमा विवाद भएको थियो ।

बाग्मतीमा हाल १०९ सांसद सदस्य रहेकोमा संविधानअनुसार कुल सांसद संख्याको २० प्रतिशतसम्म मन्त्री विस्तार गर्न सकिने भएकाले मन्त्रालय विभाजन गरेरै भए पनि २२ सदस्यीयसम्म मन्त्रिपरिषद् बनाउने मुख्यमन्त्री पाण्डेको तयारी रहेको छ । तर, अहिले दुई जना मन्त्रीमात्र थप गर्ने र केही समयपछि नै गठबन्धनभित्र सहमती गराई अरू मन्त्री थप गर्ने तयारी भएको बताइएको छ । मुख्यमन्त्री पाण्डेले मन्त्रालय विभाजन गरेर १३ मन्त्री र तीन राज्यमन्त्री बनाउने तयारी गरेका छन् ।

तत्कालै मन्त्री बन्नेको नाम गठबन्धनका माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादीले टुंगो लगाउन नसकेपछि अहिले सहमती जुटेको दुई जनालाई मन्त्री नियुक्त गर्दै सरकार सञ्चालन गर्ने पाण्डेको योजना देखिन्छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा  (२) को उपधारा (१) बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संवैधानिक व्यवस्था बमोजिम बाग्मतीमा सरकार निर्माण भएको हो ।

बाग्मतीमा ४३ सांसद रहेको एमाले भने अहिले प्रमुख प्रतिपक्षी दलको भूमिकामा पुगेको छ । प्रदेशसभामा माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई/दुई, जनता समाजवादी पार्टी नेपालको एक जना सांसद  छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here