बागमती नदीमा बेपत्ता दुई भारतीय युवकको शव फेला

१९ असार, सर्लाही । सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीले बगाएर बेपत्ता भएका दुई भारतीय युवकको आइतबार दिउँसो शव फेला पारिएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका–१ मा पर्ने पर्यटकीय क्षेत्र नुनथर घुम्न आएका भारतीय युवकहरु ३० वर्षीय मयङ्क अग्रवाल र सोही उमेरका गोलुकुमार शनिबार साँझदेखि बागमती नदीले बगाएर बेपत्ता भएका थिए ।




भारतको सीतामढी कोटबजारका मयङ्क र गोलुकुमार दुवैको शव आइतबार दिउँसो रौतहटको चन्द्रपुर नगरपालिका–९ र रौतहटकै वृन्दावन नगरपालिका–१ को सीमा क्षेत्रस्थित बागमती नदीमै फेला पारिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी सन्तुलाल जैसवारले बताए ।
नुनथरमा घुम्न आएका मयङ्क र गोलुकुमारलाई नदीले बगाएको स्थानभन्दा झण्डै १५ किलोमिटर दक्षिण एकै ठाउँमा शव फेला परेको डीएसपी जैसवारले बताए । आइतबार दिउँसो स्थानीयले मृतक दुवैको शव देखेपछि प्रहरीमा खबर गरेका थिए ।
मृतक दुवैको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पताल लगिएको छ । बीआर ०१ एचएफ ६६१९ नम्वरको मोटरसाइकलमा नुनथर घुम्न आएका उनीहरु पौडी खेल्नेक्रममा नदीमा डुबेर बेपत्ता भएका थिए ।
मयङ्क र गोलुकुमारसँगै घुम्न आएका २७ वर्षीय सुमन साहको भने स्थानीयले तत्कालै उद्दार गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्