बागबजारको धारा र ट्युवबेलको पानीमा भेटियो हैजा, अहिलेसम्म ५ जनामा हैजा पुष्टि
८ असार, काठमाडौं । हैजा देखिएका काठमाडौंको बागबजारका दिदीबहिनीमा धारा र ट्युवबेलको पानीबाट हैजा संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुम्मनलाल दासका अनुसार उनीहरुले पिउने पानीको नमुना परीक्षण गर्दा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको छ । इकोली र कोलीफर्म मानिसको दिसामा रहने संक्रामक जिवाणु हो ।
‘धारा र ट्युवबेलबाट आएको पानीको नुमना परीक्षण गरेका थियौं । रिर्पोटमा घातक जीवणु कोलोफर्म र इकोली नै भेटियो,’ डा. दासले भने । हैजा देखिएका अन्य क्षेत्रको पनि पानीको नमुना परीक्षण भइरहेको उनले जानकारी दिए ।
महाशाखाका अनुसार अहिलेसम्म ५ जनामा हैजा पुष्टि भइसकेको छ । बुधबार डिल्लीबजारमा हैजाको नयाँ केस पुष्टि भएको छ ।
‘बागबजार तथा अन्य हैजा देखिएको ठाउँका मानिसलाई अलर्ट गरिसकेको छौं । पानी उमालेर मात्रै खानु भनेका छौं,’ डा. दासले भने, ‘केसहरु एक ठाउँमा मात्रै छैन । ठाउँ–ठाउँमा देखिएको छ । अब आउटब्रेक हुनसक्छ ।’
चिकित्सकका अनुसार दिसामा पाइने जीवाणु कोलीफर्म तथा इकोली भएको पानी पिउँदा मान्छेको स्वास्थ्यमा गम्भीर असर पर्ने देखिन्छ ।
दिसामा पाइने जीवाणुले आउँ, झाडापखाला, जण्डिस लगायतका समस्या देखा पर्नुका साथै मिर्गौला तथा कलेजोमा पनि असर गर्छ ।
प्रतिक्रिया दिनुहोस्