बांग्लादेशको नयाँ अस्पताललाई विश्वकै सबैभन्दा उत्कृष्ठ नयाँ भवनको रुपमा सम्मानित

१९ माघ, काठमाडौं । सीएनएन । बढ्दो समुद्री सतहप्रति संवेदनशील मानिएको ग्रामीण क्षेत्रमा निर्मित बांग्लादेशको नयाँ अस्पताललाई विश्वकै सबैभन्दा उत्कृष्ठ नयाँ भवनको नाम दिइएको छ । 

समुद्री आँधी लगायत प्रकोपका लागि चिनिने देशको दक्षिणतर्फको जिल्ला सातखिरामा निर्माण गरिएको यो अस्पतालले २०२१ को सम्माननीय ‘रीबा इन्टरनेस्टनल’ पुरस्कार प्राप्त गरेको हो ।

frontline

विशेषगरी भवन डिजाइन गरेका आर्किटेकहरुको यसलाई मानव हित तथा वातावरणका निम्ति एकदम ख्याल गरेर बनाएकामा अधिक प्रशंसा गरिएको छ । 

स्थानीय इट्टाले निर्माण गरिएको यो अस्पतालमा ८० वटा बेड छन् । त्यस्तै यसको आसपासका पथहरु हिँड्दा एकदम शितल हुने किसिमले निर्माण गरिएको छ । त्यस्तै यसको केन्द्रलाई ‘इन–पेसेन्ट’ र ‘आउट–पेसेन्ट’ विङमा छुट्याउन बीचबाट काटेर पानीको कुलो जस्तो सुन्दर ‘क्यानल’ राखिएको छ । 

‘रोयल इन्सटिच्युट अफ ब्रिटिश आर्किटेक’ ले आयोजना गरेको अवार्डमा अस्पतालको डिजाइन गाउँ वस्तीको माहोलसँम राम्ररी घुलमिल भएको जस्तो देखिने र आगन्तुक अनि बिरामी तथा चिकित्सकका लागि पनि प्रोत्साहनपूर्ण वातावरणको अनुभव सिर्जना गर्ने खालको भएको बतााइएको छ । 

यसलाई आर्किटेक केशेफ चौधरी र ढाकामा आधारित फर्म उरबानाले मिलेर डिजाइन गरेका हुन् ।  त्यस्तै यसको सञ्चालन चाहिँ दिर्गकालीन विकाससँग सम्बन्धित एनजीओले गरेको छ ।

चौधरीले अवार्डका लागि यसलाई छनोट गर्ने जुरीको निर्णयप्रति आभारी व्यक्त गरेका हुन् र विश्व परिधिसँग जोडिएको परियोजनालाई सम्मानित गर्नु महत्वपूर्ण क्षण भएको बताएका हुन् । 

प्रेससँगको कुराकानीमा उनले भने, “यसले हामी जस्ता धेरैलाइै प्रेरित गर्नेछ भनेर म प्रोत्साहित भएको छु । सिमित श्रोत साधनका कारण मात्र नभएर आर्किटेक्चरहरुले मानव र प्रकृति दुवैको ख्याल राख्ने किसिमले संरचनाहरु बनाएर विश्वव्यापी आपत्कालीन चुनौतिहरुको सम्बोधन गर्न सक्नेछन् भन्ने मेरो विश्वास छ । ”

हरेक दुई वर्षमा आयोजना गरिने यस सम्मान कार्यक्रममा त्यस्ता भवनहरुलाई अवार्ड दिइन्छ जसले संरचनात्मक उत्कृष्ठताका साथै सामाजिक प्रभावलाई पनि ध्यानमा राखेर डिजाइन गरिएका हुन्छन् ।

सो अस्पताललाई चाहिँ बढ्दो समुद्री सतहका कारण धान खेतीलाई समुद्री खाद्यान्न उत्पादनका लागि प्रयोग गर्न थालिएको अत्यन्तै संवेदनशील र बदलिँदो वातावरणमा निर्माण गरिएको छ । 

यस पुरस्कारका लागि युरोप, एसिया, अमेरिका र दक्षिण अमेरिका अनि फ्रेन्च आर्किटेक समेतले सहभागीता जनाएका छन् । र ११ वटा देशबाट मूल्यांकनको अन्तिम चरणमा पुगेका १६ भवनहरुलाई पछि पार्दै यो अस्पताल प्रथम भएको हो । 
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here