बलिउड चलचित्रको टोली नेपालका हिमाली क्षेत्रमा लोकेसन छनौट गर्न व्यस्त
जोमसोम । पर्वतीय पदयात्रा कथामा आधारित भारतीय बलिउड चलचित्र ‘उचाई’ को छायाँङ्कन नेपालका विभिन्न हिमाली क्षेत्रमा हुने जनाइको छ । आउँदो अक्टोवर महिनामा सुरु गरिने भारतीय बलिउड चलचित्र ‘उचाई ‘को छायाँङ्कनका लागि भारतीय बलिउड चलचित्र युनिटको टोली नेपालका हिमाली क्षेत्रमा लोकेसन छनौट गर्न व्यस्त छन् ।
राजश्री प्रोडक्सन कम्पनी प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण हुने बलिउड चलचित्र ‘उचाई ‘को निर्देशन सोराज बरजतयाले गर्ने भएका छन् । बलिउड चलचित्र ‘उचाई’को छायाँङ्कन नेपालमा ५० प्रतिशत हुने थ्रिबिलर्स फिल्मका प्रतिनिधि पुष्पराज न्यौपानेले जानकारी दिए । उनका अनुसार बलिउड चलचित्र ‘उचाई’ को नेपालमा एक महिनासम्म छायांकन गर्ने योजना रहेको उनले बताए ।
पर्वतीय पदयात्रा कथामा आधारित रहेकाले दुई साताअघि मात्र हवाई मार्गमार्फत मुस्ताङको वारागुङ मुक्तिक्षेत्रअन्तर्गत मुक्तिनाथ,झारकोट,झोङ,कागबेनी,सेल्फी पार्कलगायतको स्थानमा लोकेशन अवलोकन गरी टोली फर्किएको उनको भनाइ छ ।
टोलीले हवाई मार्गमार्फत लोकेशन अवलोकन गर्दा पर्याप्त नभएको भन्दै स्थलगत रुपमै लोकेशन अवलोकन गर्नुपर्ने भएकाले बलिउड प्रतिनिधि टोली मुस्ताङ आउने योजनामा रहेको जानकारी दिए ।
कोरोना कहरले सिर्जित निषेधाज्ञा जारी रहेको कारण बलिउड प्रतिनिधि टोलीस्थल मार्ग हुँदै मुस्ताङ आउन नसकेको बलिउड चलचित्रका प्रतिनिधि न्यौपानेले जनाए ।उनका अनुसार टोलीले मुस्ताङ ,मनाङ र लाम्टाङ मध्ये कुनै एक स्थान तय गर्ने जनाइएको छ ।
टोली प्रतिनिधि न्यौपानेले मुस्ताङमा लोकेशन छनौट गर्न सम्भव रहेमा उपल्लो मुस्ताङसम्म पुगेर छायाँङ्कन गर्ने योजना रहेको बताए । उनले आइतबार हवाई मार्गमार्फत हिमाली जिल्ला मनाङमा लोकेशन अवलोकन गर्ने तैयारी गरेको जानकारी दिए ।
भारतीय सुपरस्टार सलमान खानद्वारा अभिनित भारतीय बलिउड चलचित्र मैने प्यार किया, हम आपके हे कौन लगायतका दर्जनौं सुपरहिट चलचित्र निर्देशन गरिसकेका निर्देशक सोराज बरजतयाले बलिउड चलचित्र ‘उचाई’ को निर्देशन पनि उनैले गर्ने भएका हुन् ।
सलमान खानलाई अहिलेको लोकप्रिय अवस्थामा पुर्याउन लागि महत्वपूर्ण योगदान दिएका निर्देशक सोराज बरजतयाले पर्वतीय कथामा आधारित बलिउड चलचित्र ‘उचाई ‘ को निर्देशन गर्न लागेका हुन् ।
बलिउड चलचित्र ‘उचाई ‘ले पनि विगतको जस्तै सफलता प्राप्त गर्ने टोली प्रतिनिधि न्यौपानेको दावी छ । उनले सलमान खानलाई बलिउड फिल्म इन्डष्ट्रिजमा डेम्भु गराउने निर्देशन सोराज बरजतयानै भएको जनाए ।
केमेडी बिटमा आधारित बलिउड चलचित्र ‘उचाई’मा भारतीय बहुचर्चित कलाकार अमिताभ बच्चन,अनुपमखेर ,भुमनी रानी र डेनी डेन्जोङ्पा लगायतका कलाकारहरुको अभिनयन रहने बताएएको छ ।
टोली प्रतिनिधि न्यौपानेले अहिले करिब १०-१२ जनाको टिमले प्रारम्भिक लोकेशन छनौटको काम अघि बढाएको र लोकेशन तय भइसकेपछि अक्टोबर महिनामा झन्डै डेढ सयभन्दा बढी भारतीय बलिउडकर्मी नेपाल आउने योजना रहेको जानकारी दिए ।
यसअघि करिब ४० को दशकमा अमिताभ बच्चनद्धारा अभिनित बलिउड चलचित्र खुदा गवाहको छायाङ्कन मुस्ताङमा नै भएको थियो । यसपछि मुस्ताङमा बलिउड चलचित्रको छायाङ्कन हुन सकेको छैन ।
बलिउड चलचित्र ‘उचाई’को छायाङ्कन भयो भने यो चलचित्र मुस्ताङमा दोस्रो बलिउड चलचित्र हुनेछ । भारतीय बलिउड चलचित्र प्रोडक्सन राजश्री कम्पनी र नेपालमा थ्री विल्डर्स फिल्मको संयुक्त टोलीले बलिउड चलचित्र ‘उचाई ‘को छायाँङ्नमा सहकार्य गर्ने टोली प्रतिनिधि पुष्पराज न्यौपानेले जानकारी दिए ।
उनले स्थानीयस्तरमा जनताको साथ र सहयोग बिना चलचित्र छायाँङ्कन गर्न सम्भव नरहेको बताए । उनले बलिउड चलचित्र ‘उचाई’ को लागत निकै महङ्गो भएकाले चलचित्रले हिमालीक्षेत्रको पर्यटन प्रर्वद्धनमा समेत सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
मुस्ताङमा गत वैशाखदेखि निषेधाज्ञा जारी रहेकाले टोली मुस्ताङ आइपुग्न समस्या परेको उनको भनाइ छ । परिस्थिति अनुकुल भएमा यथाशीघ्र मुस्ताङमा लोकशन अवलोकन गरिने उनले बताए ।
यसअघि कोरोना कहरको अवस्थामा गत जेठमा भारतीय बलिउड चलचित्र ‘तिरीमाली ‘ को छायाङ्कन भइरहँदा स्थानीय प्रशासनले छायाँङ्कनमा रोक लगाएको थियो ।
प्रतिक्रिया दिनुहोस्