बलात्कारको आरोपमा प्रधानाध्यापक पक्राउ
६ फागुन, विराटनगर । महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एउटा विद्यालयका प्रधानाध्यापकलाई मोरङको धनपालथानबाट पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोलीले धनपालथान गाउँपालिका-५ ववियाका ४५ वर्षीय कालुराम खवासलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार खवास धनपालथान-५ मा रहेको एकतारा आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्। उनीमाथि २९ वर्षीया महिलालाई घरमै पुगेर बलात्कार गरेको आरोप छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले गत पुस १२ गते राति महिलाको घरमै पुगेर बलात्कार गरेको किटानी जाहेरीका आधारमा खवासलाई पक्राउ गरिएको जानकारी दिए।
उनका अनुसार प्रअ खवासविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन अदालतबाट बिहीबार म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको छ।
बलात्कारपछि महिलाको साथमा रहेको नगदसमेत लुटेर खवास फरार भएको जाहेरी प्रहरीमा परेको छ। प्रहरीले कति रकम लुटिएको हो भन्ने बारेमा अनुसन्धान थालिएको जनाएको छ।
महिलामाथि बलात्कार गरेर रकमसमेत लुटी भागेको भन्ने व्यहोराको जाहेरी परेपछि विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याइएको छ,’ डीएसपी श्रेष्ठले भने, ‘अनुसन्धानका क्रममा घटनाको थप कुरा खुल्दै जाने छ।’
प्रतिक्रिया दिनुहोस्