बडादसैंको आठौं दिन आज महाअष्टमी मनाइँदै
काठमाडौं : बडादसैं तथा नवरात्रको आठौं दिन (महाअष्टमी) आज दसैंघर र पूजाकोठामा नवदुर्गामध्येकी आठौं देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।
प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरीको विशेष आराधना गर्ने वैदिक सनातनी परम्परा रहँदै आएको छ। पौराणिक मान्यतानुसार महागौरीको स्वरूप गोरो वर्ण, श्वेत वस्त्रधारण गरेकी र सेतो वृषभ (साँढे) माथि चढेकी हुन्छिन्। सुरुमा देवीको रङ कालो भएकाले भगवान् शिवले ख्यालठट्टामा ‘ए काली’ भनेपछि सो शब्द मन नपरी देवीले कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेको र महागौरी नाम पर्न गएको पौराणिक ग्रन्थहरूमा उल्लेख छ।
गत असोज २५ गते घटस्थापना गरी जौको जमरा राखिएसँगै पहिलो दिन शैलपुत्रीको पूजा आराधना गरी नवरात्र सुरु भएको थियो। त्यसपछि क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी र सातौं दिन कालरात्रि देवीको पूजा गर्दै फूलपाती भित्र्याइएको थियो। आठौं दिन आज महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ।






प्रतिक्रिया दिनुहोस्