बंगलादेशका पूर्वप्रधानन्यायाधीश सिन्हालाई भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजायँ

२४ कात्तिक, काठमाडौं । बंगलादेशका पूर्वप्रधानन्यायाधीश सुरेन्द्र कुमार सिन्हालाई भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजायँ सुनाइएको छ ।

७० वर्षीय पूर्वप्रधानन्यायाधीश सिन्हालाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा सात वर्ष र विश्वासघातसम्बन्धी मुद्दामा चार वर्ष गरी जम्मा ११ वर्षको जेल सजायँ सुनाइएको हो ।

frontline

सिन्हाले तत्कालीन फार्मर्स बैंक (हाल पद्म बैंक)बाट ४ लाख ७० हजार अमेरिकी डलर ऋण लिएका थिए । त्यसपछि उनले त्यो रकम नगद, चेक र पे–अर्डरमार्फत् दोस्रो खातामा सारेको आरोप छ । यसो गर्नु बंगलादेशको भ्रष्टाचार रोकथामसम्बन्धी कानुन अनुसार दण्डनीय मानिन्छ ।

भ्रष्टाचारसम्बन्धी यही प्रकरणमा मुछिएका १० जनामध्ये मोहम्मद शाहजाँ र निरन्जन चन्द्र साहालाई भने अदालतले सफाइ दिएको छ । पूर्वप्रधानन्यायाधीश सिन्हासहित अन्यलाई भने अलग–अलग जरिवाना र जेल सजायँको फैसला अदालतले गरेको छ ।

भ्रष्टाचारको आरोप लागेपछि सिन्हाले चार वर्ष अघि विदेश भ्रमणको क्रममा प्रधानन्यायाधीश पदबाट राजीनामा दिएका थिए । यद्यपि उनले बंगलादेशको ‘अलोकतान्त्रिक’ र ‘निरंकुश’ शासनको विरोध गरेकाले आफूलाई राजीनामा दिन बाध्य पारिएको दाबी गर्दै आएका छन् ।

सिन्हा हाल अमेरिकामा बस्दै आएका छन् । उनको अनुपस्थितिमा अदालतले जेल सजायँ सुनाएको हो ।

सिन्हा बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायबाट पहिलोपटक प्रधानन्यायाधीश बनेका थिए । उनी बंगलादेशका २१ औं प्रधानन्यायाधीश हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here