फाइनल प्रवेशका लागि आज कर्णाली र जनकपुर भिड्दै
नेपाल प्रिमियर लिग (एनपीएल)को क्वालिफायर टुमा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्न १२ बजे सुरु हुनेछ ।
लिग चरणमा चौथो स्थानमा रहेको कर्णालीले बुधबार भएको एलिमिनेटरमा चितवन राइनोजलाई पराजित गर्दै क्वालिफायर टु मा प्रवेश गरेको थियो । लिगमा दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्स भने क्वालिफायर वानमा सुदूरपश्चिम रोयल्सलाई पराजित गरेपछि क्वालिफायर टु खेल्न लागेको हो । सुदूरपश्चिमसँग पराजित भएपनि जनकपुरका लागि फाइनल पुग्ने अर्को अवसर प्राप्त भएको छ ।
लिगको अन्तिम खेलमा पराजित भएपनि कर्णालीले एलिमिनेटरमा उत्कृष्ट प्रदर्शन गर्दै चितवनलाई हराएकोले लयमा छ । चितवन विरुद्ध विशेषगरी कर्णालीको ब्याटिङ राम्रो देखिएको थियो ।
कर्णालीका विलियम बोसिस्टो, चाडविक वाल्टनले राम्रो ब्याटिङ गरेका छन् । यस्तै जिसन मक्सुदले अलराउण्ड प्रदर्शन गरिरहेका छन् । भर्खरै अनुबन्ध भएर प्लेअफमा खेलेका जयकसिन कोल्सावालाले पहिलो खेलमै अर्धशतक बनाएर बफ्नो उपस्थिती प्रमाणित गरिसकेका छन् ।
बलिङमा युवा स्पीनर विपिन प्रसाद शर्मासहित कप्तान सोमपाल कामी र नन्दन यादव छन् । कर्णालीमा धेरै अलराउण्डर हुँदा बलिङमा विकल्प छ । तर, ब्याटिङमा अपेक्षाअनुसार नेपाली खेलाडीले अझै प्रदर्शन देखाउन सकेका छैन । देव खनालले एक अर्धशतक बनाउनु बाहेक ब्याट चलेको छैन । गुलसन झा ले पनि अपेक्षा अनुसार प्रदर्शन गर्न सकेका छैनन् ।
उता, नियमित कप्तान अनिल साह हातको चोटका कारण खेल्न नसक्नेपछि सुदूरपश्चिम विरुद्धको क्वालिफायर वान गुमाएका थिए । उनले कर्णाली विरुद्ध पनि खेल्ने छैनन् । अनिलको अनुपस्थितिमा आकाश त्रिपाठीले पहिलो रोजाईँमा खेलेका थिए । ब्याटिङमा जिम्मी नीशमम धेरै भर पर्दा जनकपुरका अन्य खेलाडीले राम्रो साथ दिन सकेका छैनन् ।
सुरुवाती खेलमा जनकपुरको टप अर्डरले उत्कृष्ट प्रदर्शन गरेपनि मिडल अर्डर चल्न सकेको छैन । त्यसैले फाइनल पुग्ने होभने जनकपुरको टप अर्डरले राम्रो प्रदर्शन गर्नुपर्ने आवश्यकता छ ।
लिग चरणमा जनकपुरले कर्णालीलाई ८ विकेटले पराजित गरेको थियो । जहाँ अनिल साहले अविजित ६२ रन बनाएका थिए । कर्णाली सामु त्यो हारको बदला लिने अवसर छ भने जनकपुर भने क्वालिफायर वानको हार पिडा बिर्साउँदै कर्णालीविरुद्धको लय कायम राख्दै फाइनल पुग्ने लक्ष्यमा छ ।
प्रतिक्रिया दिनुहोस्