प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम दुरुपयोग हुँदैन : मन्त्री पुन
काठमाडौं : विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त भएको रकमको दुरुपयोग नहुने स्पष्ट पारेका छन्।
सोमबार मन्त्रालयमा नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले कोषमा उपलब्ध गराएको सहयोग रकम बुझ्दै मन्त्री पुनले कोषको रकम पारदर्शी रूपमा नै खर्च हुने उल्लेख गरे। बाटोघाटो, पुल, स्कुल तथा अस्पतालहरू बगाएका स्थानमा पुनर्निर्माण गर्न र राहत पुर्याउन कोषको रकम खर्च भइरहेको उनले बताए। हालैको बाढीपहिरोबाट करिब ३–४ खर्ब रुपैयाँ बराबरको ठूलो नोक्सानी भएको भन्दै राहत कोषको रकमले मात्र पुनर्निर्माण गर्न पर्याप्त नहुने उनले उल्लेख गरे।
उनले भोटेकोशी बाढीका कारण सडक सञ्जाल अवरुद्ध हुँदा उद्धार तथा राहत कार्यमा हेलिकप्टरको अत्यधिक प्रयोग भएको र त्यसैमा ३०–४० करोड रुपैयाँभन्दा बढी खर्च भएको बताए।
नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि एक करोड १७ लाख ६० हजार रुपैयाँ हस्तान्तरण गरेको हो।






प्रतिक्रिया दिनुहोस्