प्रधानमन्त्री देउवा र ‘विप्लव’बीच भेटवार्ता

श्रोत : ईन्टरनेट

२८ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित बालुवाटार पुगेका विप्लवले सरकारसँग भएको तीनबुँदे समझदारीको कार्यान्वयन नभएको गुनासो गरेको छन् ।

frontline

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका वेला २१ फागुन २०७७ मा सरकार र नेकपाबीच तीनबुँदे समझदारी भएको थियो ।

समझदारी भएसँगै हिंसात्मक गतिविधि गरिरहेको पार्टी शान्तिपूर्ण राजनीतिमा आएको थियो । तर सरकार पक्षबाट सहमति कार्यान्वयनमा अलमल भएको पार्टीका प्रवक्ता प्रकाण्ड बताउँछन् । भन्छन्, ‘सरकारले सहमति कार्यान्वयनमा इमान्दारिता देखाउनुपर्छ ।’

भेटमा प्रधानमन्त्री देउवाले भने सहमति कार्यान्वयनका लागि सहयोग गर्ने आश्वसन दिएको भनिएको छ । उनले यस विषयमा गृहमन्त्री बालकृष्ण खाँण र कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुसँग पनि छुट्टै छलफल गर्ने बताएका छन् ।

सरकारसँग भएको समझदारीमा दुवै पक्ष देशका राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न तयार भएको भनिएको थियो ।

दोस्रो बुँदामा विप्लव नेतृत्वको नेकपाले सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्णरुपमा गर्ने भनिएको थियो ।

साथै, सरकारका तर्फबाट नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउने र कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दा खारेज गर्ने भनिएको थियो ।

यही बुँदा कार्यान्वयनमा नभएको भन्दै विप्लवले पटकपटक सरकार पक्षका नेताहरुलाई भेट गरिरहेका छन् ।

समझदारीसँगै अनुसन्धानका लागि हिरासतमा रहेका विप्लवका केही नेता कार्यकर्ता रिहा भएका थिए ।

केहीलाई अदालतले धरौटीमा छाडेको थियो । तर अदालतमा मुद्दा विचाराधीन रहेकासहित १२५ नेता कार्यकर्ता अझै कारागारमा रहेको नेकपाको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here