प्रधानमन्त्री देउवा र प्रचण्डसँग ओलीको छलफल सकारात्मक भयो : सुवासचन्द्र नेम्वाङ

फाइल तस्बिर

१३ फागुन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफल सकारात्मक भएको बताएका छन् ।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग एमाले अध्यक्ष ओलीले बिहीवार संसद भवनमा भेटवार्ता गरेका थिए ।

frontline

भेटवार्ताको क्रममा एमसीसी र राष्ट्रिय राजनीतिको सम्बन्धमा तथा संसदको गतिरोध अन्त्य गर्ने विषयमा व्यापक छलफल भएको उपाध्यक्ष नेम्वाङले बताए । छलफल सकारात्मक भएको उनले बताए ।

छलफललाई अझै निरन्तरता दिइने उनको भनाई छ । उनले भने, ‘अध्यक्ष र हामी नेताज्यूहरू छुट्टाछुट्टै एक्लाएक्लै र हामी सबै बसेर हामी बीचमा छलफल भयो ।

एमसीसीको बारेमा, राष्ट्रिय सन्दर्भमा, संसदको गतिरोधको सन्दर्भमा व्यापक छलफल हुँदा कमरेड प्रचण्डहरूसँग सकारात्मक रूपमा छलफल भएको छ । त्यसलाई निरन्तर अगाडि बढाउने सल्लाह भएको छ ।’

उपाध्यक्ष नेम्वाङले एमाले सबैकुरा सकिएपछि अन्त्यमा फुटाएर भए पनि काम चलाउनुपर्ने खुत्रुक्के जस्तो भने नभएको स्पष्ट पारे ।

उनले भने, ‘अध्यक्ष केपी ओलीको शब्दमा भन्नुपर्दा हामी खुत्रुक्के होइनौं । खुत्रुक्के माटोको भाँडो जसमा पैसा राखेर जम्मा गर्ने गरिन्छ ।

सबै चिज सिद्धियो भने अन्तिममा खुत्रुक्के फुटाएर भए पनि कामचलाउ हुन्छ । हामी त्यस्तो चाहिँ होइनौं । हामी देश र जनताको हितमा काम गर्छाैं, निर्णय गर्छौं ।’

उनले छलफल सकारात्मक रूपमा अगाडि बढेको भए पनि ठोस निष्कर्षमा नपुगिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here