प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबिच बालुवाटारमा भेटबार्ता
८ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल एमालेले निर्वाचन निष्पक्ष, धाँधलीरहित र विश्वसनीय ढंगले गराउन ध्यानाकर्षण गराएको छ।
बुधबार बिहान बालुवाटारमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण एवम् भयरहित वातावरणमा हुनुपर्ने बताएका हुन् ।
उनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गर्दा एमालेसँग सरकारले परामर्श नगरेको भन्दै असन्तुष्ट व्यक्त गरे। सत्य निरूपण मेलमिलाप आयोगको ऐनको संशोधनसम्बन्धि विधेयक छलफलका लागि सरकारले संसदमा पेश गरेको विषयमा ओलीले सरकारले यस्ता विधेयक ल्याउँदा प्रमुख प्रतिपक्षीसँग छलफल गरेर मात्र ल्याउन आग्रह गरे।
उनले शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुर्याउनका लागि तदारुकता देखाउनसमेत सरकारको ध्यानाकर्षण गराए। ओलीले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको तत्काल कदम चाल्नुपर्ने बताए।
जवाफमा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीले राखेका विषयमा सकरात्मक रहेको बताएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
देउवाको भनाई उदृद गर्दै कार्कीले भने ‘तपाईंहरूले उठाएका विषय सकारात्मक रूपमा लिएको छु। धाँधलिरहित र विश्वसनीय वातावरणमा निर्वाचन हुने कुरामा आशंका नगर्नुहोस्। निष्पक्ष चुनाव गराउन सरकार प्रतिबद्ध छ।’
देउवा र ओलीको साथमा सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्की, एमाले उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवास नेवाङ, उपाध्यक्ष विष्णु पौडेलसमेत सहभागी थिए।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९, नागरिकता विधेयक पेश भएको छ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दी (कोइराला)ले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक मंगलबारको बैठकमा पेश गरेका हुन्।
उक्त विधेयकका कतिपय प्रावधानमा एमाले, सत्यनिरुपण तथा मेलमिलाप आयोग, राष्ट्रिय मानव अधिकार आयोग मात्र होइन, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरू पनि असन्तुष्ट बनेका छन्।
सरकारले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन घोषणा गरेको छ। देउवा सरकारले पछिल्लो समय प्रमुख प्रतिपक्ष दलसँग सल्लाह नगरी कतिपय निर्णयहरु एकलौटी ढंगले गरेको भन्दै एमालेका नेताहरुले असन्तुष्ट व्यक्त गर्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस्