प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट जाँदै

फाइल तस्बिर

२४ पौष, काठमाडौं । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जान लागेका छन्।

शनिबार बिहान १० बजे देउवा प्रमुख प्रतिपक्ष दलका नेता ओली भेट्न उनको निवास बालकोट जान लागेको बालुवाटारको स्रोतले जनाएको छ।

frontline

ओलीसँगको भेटमा संसद्को गतिरोध, अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदन र समसामयिक राजनीतिकलगायतका विषयमा छलफल हुने बताइएको छ।

यस अगाडि बिहीबार राष्ट्रपति भण्डारीसँगको भेटमा देउवाले केपी शर्मा ओलीसँग संसद सुचारु गर्नेबारे मध्यस्थता गरिदिन आग्रह गरेका थिए।

प्रधानमन्त्री र राष्ट्रपतिको भेटमा संसद्को गतिरोध अन्त्य, कोरोना भाइरस, कोरोनाविरुद्धको खोप, समसामयिक राजनीतिक लगायतका विषयमा छलफल भएको थियो।

सरकार सञ्चालन गर्न गठित राजनीतिक समन्वय समितिका संयोजक एवम् कांग्रेस नेता रामचन्द्र पौडेलले पनि प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर संसद्को गतिरोध अन्त्य गर्न आग्रह गरेका थिए।

उनले अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदन र राजनीतिक निकास दिनका लागि ओलीसँग आग्रह गरेका थिए। 

एमालेले निरन्तर प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ। एमालेले कारबाही गरेका १४ सांसदलाई पद मुक्त नगरी पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले भदौ २३ बाट लगातार संसद् अवरोध गरिरहेको छ।

अवरोधबीच सभामुख सापकोटाले संसद्मा सरकारको बिजनेस अघि बढाएपछि एमाले झनै रुष्ट छ।

एमालेले भदौ १ गते नेपालसहित १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न सभामुखलाई पत्र पठाएको थियो।

एमालेले सभामुखलाई १४ सांसदलाई पदमुक्त गरिएको सूचना टाँस गर्न वा मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।

विपक्षी रोस्ट्रममा उभिएर नाराबाजीमा उत्रिरहेका बेला सत्तापक्ष र सभामुखबाट पनि ‘देखिने’ गरी संसद् खुलाउने प्रयास भएको छैन।

सभामुखकै भूमिकामाथि प्रश्न उठाएर अवरोध भएका कारण सभामुखको अग्रसरता अपरिहार्य भएपनि ठोस पहल हुन सकेको छैन ।

सरकारको दोधारकै कारण संसद्ले गति लिन सकेको छैन। संसदीय समिति पनि क्रियाशील छैनन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here