प्रधानमन्त्री देउवालाई ६ घण्टा बोल्न एमाले सांसदको चुनौती

१४ जेठ, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा ६ घण्टा बोल्न चुनौती दिएको छ।

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा छलफलको प्रारम्भमा प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले तीन घण्टा बोलेको भन्दै सत्ता पक्षबाट विरोध भइरहेको बेला एमाले सांसदले प्रधानमन्त्री देउवालाई ६ घण्टा बोल्न चुनौती दिएका हुन्।

frontline

नीति तथा कार्यक्रममाथिको छलफलमा सांसद झपट रावलले संसदमा प्रतिपक्षी दलको नेताले तीन घण्टा भाषण गरेको भनेर सत्ता पक्षको रोइलो सुनिएको भन्दै प्रधानमन्त्री देउवाले ६ घण्टासम्म बोले पनि आफूहरु सुन्न तयार रहेको जवाफ दिए।

‘आज प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम छ। प्रधानमन्त्रीज्यू ३ घण्टा होइन चार घण्टा पाँच घण्टा ६ घण्टा कति घण्टा उभिएर जवाफ दिन सक्नुहुन्छ हामी प्रतिपक्ष धैर्यतापूर्वक जवाफ सुन्न तयार छौं,’ उनले भने।

सांसद रावलले सरकारको नीति तथा कार्यक्रममाथि भन्दा पनि प्रतिपक्षी दलको नेताको सम्बोधनमा छलफल केन्द्रीत भएको भन्दै यसले एमाले सत्तामै छ भन्ने प्रमाणित गरेको तर्क गरे।

‘सत्ता पक्षका माननीयहरुले सरकारको नीति तथा कार्यक्रम गठबन्धनले प्रस्तुत गरेको हो कि प्रतिपक्षी दलको नेताले? प्रतिपक्षी दलको नेताले राखेको विचारमा छलफल केन्द्रीत भएको देख्दा स्वयं तपाईहरुमा सत्तामा हुँदा पनि प्रतिपक्षमा हुनुहुन्छ। नेकपा एमाले प्रतिपक्षमा हुँदा पनि सत्तामा छ भन्ने यसले प्रमाणित गरिरहेको छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here