प्रधानमन्त्रीलाई बुझाइयो सिन्धुलीमा निर्माणाधीन रासायनिक मल कारखानाको फाइल

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले सिन्धुलीमा निर्माणाधीन रासायनिक मल कारखानाको फाइल प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई हस्तान्तरण गरेका छन्।  

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै पुगेर पाण्डेले उक्त फाइल प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका हुन्।

frontline

आफू मुख्यमन्त्री रहेका बेला पाण्डेले थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेका थिए।

उद्योग स्थापनाका लागि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं.३ स्थित बागमती नदी किनारको ३८६ बिघा जग्गासमेत छनोट समेत भैसकेको छ।

त्यस्तै, प्रदेश सरकारको मन्त्रिपरिषदबाट उक्त विषयमा निर्णय भई औद्योगिक क्षेत्र निर्माणका लागि हाल सम्भाव्यता अध्ययन सम्पन्न भई हाल कारखाना निर्माण कार्य अघि बढिरहेकाले केन्द्र सरकारको तर्फबाट आवश्यक पहल गरिदिन आग्रहसहित प्रधानमन्त्रीसमक्ष फाइल हस्तान्तरण गरेका हुन्।

प्रधानमन्त्रीलाई फाइल हस्तान्तरण गर्दै पाण्डेले उद्योग स्थापनापश्चात आगामी दिनमा रासायनिक मलको हाहाकार नहुने भन्दै त्यसका लागि छोटो समयमै उद्योग स्थापना हुने वातावरण मिलाइदिन समेत आग्रह गरे।

‘अहिलेको अवस्थामा हाम्रो देशमा १० देखि १२ लाख मेट्रिक टन मल चाहिन्छ। त्यसका लागि हामीसँग केही समयअघि थाइल्यान्डको  मेहाछाद इन्टरनेसनल कम्पनीसँग सम्झौता समेत गरिसकेका छौं। उसले दुई लाख मेट्रिक टन मल उत्पादन गर्ने प्रतिबद्धता पनि जनाइसकेको छ। अब उद्योग स्थापना हुने स्थानको भूमि व्यवस्थापन गर्ने कार्य मन्त्रिपरिषदले गर्नुपर्ने छ, त्यसका लागि प्रधानमन्त्री ज्यूले पहल गर्नका लागि अनुरोध गर्दछु,’ प्रचण्डसमक्ष आग्रह गर्दै पाण्डेले भने।

पाण्डेका अनुसार उद्योग स्थापनाका लागि गत ०७९ पुस ६ गते बागमती प्रदेश सरकारले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं.३ स्थित बागमती नदी किनारको ३८६ बिघा जग्गासमेत छनोट भैसकेको छ।

कारखाना स्थापनाका लागि सम्बन्धित स्थानीय तह हरिहरपुरगढी गाउँपालिकासँग आवश्यक प्रक्रिया टुङ्ग्याइसकिएको छ।

उद्योग स्थापनाका लागि थाई कम्पनीसँग सम्झौतासमेत भैसकेकाले अब मन्त्रिपरिषदबाट उक्त स्थानको जग्गा लिजमा दिने व्यवस्था मिलाउन पर्नेछ। त्यसका लागि प्रधानमन्त्रीले पहल गर्नुपर्ने उनले बताए।

सांसद पाण्डेको आग्रहलाई प्रधानमन्त्री प्रचण्डले आगामी मन्त्रिपरिषद् बैठकमा छलफल गरी निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मुख्यमन्त्री रहेका बेला पाण्डे स्वयंले केन्द्र सरकारमा सबै कागजात पेश भैसकेकाले यसअघि नै त्यस विषयमा प्रारम्भिक छलफल भैसकेकाले रासायनिक मल उद्योग स्थापनाका लागि सरकारले प्रक्रिया अघि बढाइसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले ढुक्क हुन पाण्डेलाई प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै, यसअघि नै प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा पनि मन्त्रालयले गरेको प्रारम्भिक अध्ययनमा मल कारखाना स्थापनाका लागि एक खर्ब २५ अर्ब रुपैयाँ लागत अनुमान गरिसकिएको पनि जानकारी दिए।

दुई लाख मेट्रिक टन मल उत्पादन गर्ने उद्योग मुलुकका प्रत्येक प्रदेशमा स्थापना गरे लागत र ढुवानी खर्चमा पनि कम हुने प्रचण्डले उल्लेख गरे।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमै अहिले रासायनिक मलको अभाव रहेकाले उद्योग स्थापनापश्चात सरकारले किसानलाई सस्तोमा अनुदान उपलब्ध गराउन सहज हुने पनि प्रचण्डले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here