प्रदेश १ मा कांग्रेसले सरकारको नेतृत्व दावी गर्ने, १० सांसदले एमाले त्याग्दै
काठमाण्डु । प्रदेश १ मा नेपाली कांग्रेसले सरकारको नेतृत्व दावी गर्ने भएको छ । प्रदेश १ मा एकल बहुमत रहेको नेकपा एमाले विभाजन भएपछि दोस्रो ठूलो दल नेपाली कांग्रेसले सरकारको नेतृत्व दावी गर्ने तयारी गरेको हो ।
कांग्रेसका प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले सरकारमा आफुहरुको दाबी स्वभाविक भएको बताए । उनले सरकार फेरबदल हुने अवस्थामा प्रमुख प्रतिपक्षी दलले नेतृत्व दाबी गर्नु स्वभाविक भएको भन्दै एमालेबाहेकका अन्य दलसँग अहिले छलफल भइरहेको बताए ।
प्रदेश १ को प्रदेसभामा कुल ९३ प्रदेशसभा सदस्य छन् । जसमा ५१ जना सांसद रहेको एमाले विभाजन भएपछि बहुमत गुम्ने निश्चित छ ।केन्द्रमा एमालेका तत्कालिन वरिष्ठ नेता माधव नेपालले पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गरेपछि यसको असर प्रदेश १ मा पनि देखिएको हो ।
दल विभाजनका लागि ल्याइएको अध्यादेशमा प्रदेशमा पनि दल विभाजनको २१ दिनभित्र प्रदेशसभामा रहेका पार्टीका सांसदहरुले कुन पार्टी रोज्ने भन्ने निर्णय लिन पाउने उल्लेख छ । त्यहीं व्यवस्थाअनुसार नेपाल नेतृत्वको समाजवादी पार्टीमा एमालेका १० जना सांसद जाने निश्चित छ ।
नेता नेपालको पार्टीमा १० जना सांसद गएमा एमालेको प्रदेश सभामा ४१ सांसद बाँकी रहन्छन् । तर बहुमतका लागि ४७ सांसद चाहिन्छ । प्रदेश १ मा कांग्रेसका २१, माओवादीका १५, जनता समाजवादी पार्टी (जसपा)को ३ र अन्य साना दुई दलको १–१ सांसद छन् ।
प्रदेश प्रमुख हटाउने तयारी
प्रदेश १ मा कांग्रेसले पहिला प्रदेश प्रमुख सोमनाथ ‘प्यासी’ अधिकारीलाई हटाउने तयारी गरेको छ । प्रदेश प्रमुख अधिकारीमाथि पार्टीको कार्यकर्ताजस्तै विधि र प्रक्रिया नपुर्याइ नयाँ मुख्यमन्त्री नियुक्त गरेको कांग्रेसको आरोप छ ।
बिहीबार मात्रै प्रदेश–१ मा शेरधन राईले राजीनामा दिएर भीम आचार्यलाई मुख्यमन्त्री बनाइएको थियो । हतार–हतारमा संसदीय दलको नेता परिवर्तन गरी आचार्यलाई मुख्यमन्त्री बनाइएको थियो । त्यसमा विधि र विधान मिचिएको आरोप कांग्रेसको छ ।
प्रमुख सचेतक कार्कीले प्रदेश प्रमुखले संविधान बाहिर गएर काम गरिरहेको आरोप लगाए । उनले वर्तमान सरकार हटाएर नयाँ निर्माणमा एमाले बाहेकका सबै दल एकमत रहेको बताए ।
१० सांसदले एमाले त्याग्दै
प्रदेश १ का १० जना एमाले सांसद माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका छन् । एमालेका १० जना सांसदहरूले मंगलबार आफूहरूले समाजवादी दल रोजेको पत्र निर्वाचन आयोगलाई बुझाउने तयारी गरेका हुन् ।
एकीकृत समाजवादीका नेता राजेन्द्र राईले शनिबार विराटनगरको एक होटेलमा छलफल गरी आफूहरुले समाजवादी दल रोजेको पत्र निर्वाचन आयोगमा बुझाउने सामुहिक निर्णय गरेको बताए ।
एकीकृत समाजवादीमा न्यूनतम १४ जना प्रदेश सांसद पुर्याउने उनको दाबी छ । १० जना सांसदहरुमा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्री रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्