प्रतिकूल मौसमका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित
१३ पुस, काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ ।
काठमाडौंको आकाशमा बिहानैदेखि बाक्लो तुँवालो लागेर भिजिबिलिटी कम हुँदा विमानस्थलमा बिहानैदेखि उडान सामान्य प्रभावित भएको छ
। मौसम खराबीले दुबैतर्फका उडान सामान्य प्रभावित भएको विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंले जानकारी दिए ।
उनका अनुसार आन्तरिकतर्फ आइएफआर उडान मात्र भइरहेको छ । अन्तर्राष्ट्रियमा पनि बिहान कतिपय उडान प्रभावित भए पनि अहिले सामान्य अवस्था रहेको छ ।
बिहान दिल्लीबाट आएको इथोपियन एयरलाइन्सको जहाज डाइभर्ड भएको थियो । बिहान विमानस्थलको भिजिबिलिटी तीन हजार मिटर छ ।
मौसम खराबीले आन्तरिक उडान हुने देशका कतिपय विमानस्थलमा पनि उडान हुननसकेको जनाइएको छ ।
बाक्लो कुहिरो र हुस्सुका कारण आईएफआर उडान हुँदा आन्तरिक उडान डिले हुने गरेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए ।
उनले उडान डिले भए पनि गन्तव्यमा यात्रु पुर्याउन एयरलाइन्सले हरसम्भव लागिपर्ने बताए ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।
धेरै स्थानमा हल्कादेखि मध्यम वर्ष र उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ ।
पहाडी भेगमा बाक्लो तुवालो लागेको छ भने तराईका कतिपय स्थानमा हुस्सु/कुहिरो लागेको छ । आज काठमाडौँको न्यूनतम ३ दशमलब ६ र अधिकतम तापक्रम १७ डिग्रि सेल्सियस रहेको छ ।
प्रतिक्रिया दिनुहोस्