प्रचण्डको नजरमा हर्क साम्पाङ उट्पट्याङ, ज्ञानेन्द्र ‘नक्कली राजा’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङलाई उट्पट्याङ हर्कत नदेखाउन आग्रह गर्नुभएको छ । पार्टी निकट किराँती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको संयुक्त राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न धरान पुग्नुभएका उहाँले बरु आफूहरुको अभियानमा जोडिन प्रस्ताव गर्नुभएको छ ।
माओवादीप्रति नकारात्मक नबन्न उहाँले सुझाव समेत दिनुभयो । ‘मैले धरानका मेयर हर्क साम्पाङलाई लोकतन्त्रमा फुलेको एउटा सुन्दर फूल भनेको छु, तर उहाँ कहिलेकाहीँ उट्पट्याङ कुरा गर्नुहुन्छ’, उहाँले भन्नुभयो, ‘माओवादीप्रति नकारात्मक बन्न आवश्यक छैन, संविधान संशोधन, भ्रष्टाचार अन्त्य र सुशासन कायमको लागि सँगैँ लडौँ, अब हामी सँगै हिँड्ने हो ।’




प्रचण्डले फरक प्रसंगमा दरबार हत्याकाण्डको छानबिन गर्न राजावादीहरुलाई चुनौती पनि दिनुभयो । उनीहरुले अहिले ‘राजा’ मानिरहेका ज्ञानेन्द्र शाह ‘नक्कली राजा’ भएको उहाँको तर्क छ । ‘राजा ल्याउन आन्दोलन गछौँ भन्ने राजावादी साथीहरुले दरबार हत्याकाण्डको छानविन गरौँ भन्ने प्रस्ताव ल्याउन आँट गर्नुहुन्छ ?’, उहाँले सोध्नुभयो, ‘के को राजा राजा भन्नुहुन्छ, अहिले तपाईहरुले भन्ने गरेको राजा नक्कली राजा हुन्, रियल राजाका हत्यारालाई खोजौँ नभनेर तपाईंहरुले पनि नक्कली कुरा गरिरहनुभएको छ ।’
त्यस्तै, उहाँले राजावादीले जेठ १५ गतेदेखि घोषणा गरेको जनआन्दोलनको कुनै औचित्य नभएको पनि बताउनुभयो । अब कुनै पनि हालतमा राजसंस्था नफर्किने ठोकुवा गर्दै अघि भन्नुभयो, ‘सुनारको सय चोट, लोहारको एकै चोट भनेजस्तो हामीले हानेपछि उनीहरुको बेलुन नै फुटेको छ, अहिले फेरि अर्को बेलुनमा हावा भर्ने भनिरहेका छन्, तर त्यो हुनेवाला छैन ।’
उता, राजसंस्था पुनस्र्थापनाको लागि गठित संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते राजधानी आउन देशभरका राजावादीहरुलाई अपील गरेको छ । सुकेधाराको नवदुर्गा पार्टी प्यासेलमा बसेको बैठकपछि समितिले राजसंस्था पुनस्र्थापना नहुँदासम्म अनिश्चित आन्दोलनमा सहभागी हुन उर्दी जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्