प्रचण्डको तस्वीर जलाउने राप्रपा कार्यकर्तामाथि प्रहरी धरपकड

‘नेताको तस्वीर जलाउँदा राज्यसंयन्त्रको दुरुपयोग’

‘लोकतन्त्रमा तस्वीर जलाउनुलाई विरोधको सामान्य प्रक्रिया मानिन्छ । त्यसबाट गालीबेइज्जती गरेको महसुस भए सम्बन्धित व्यक्ति अदालत जाने बाटो हुँदाहुँदै राज्यसंयन्त्रको दुरुपयोग गरी व्यक्ति पक्राउ गर्नु गलत हो ।’

३ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको तस्वीर जलाएको आरोपमा आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टीका एक नेता पक्राउ परे ।

frontline

पक्राउ पर्ने कालिकोटका निराजन बम राप्रपाको भ्रातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघका महासचिव समेत हुन् । उनलाई भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

उनले हेटौंडाको एक कार्यक्रममा शनिबार प्रचण्डको तस्वीर जलाएका थिए । उनले कार्यक्रममा ‘तपाईंहरू यो मान्छेलाई त चिन्नुहुन्छ होला नि’ भन्दै प्रचण्डको तस्वीर जलाएका थिए ।

उनलाई भरतपुर विमानस्थलबाट पक्राउ गरेर प्रहरीले मकवानपुर पठाएको छ । डीएसपी श्यामु अर्यालले बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उपस्थित गराइएको स्वीकार गरेका छन् ।

‘हिजो तस्वीर जलाएको विषयमा यहाँ जाहेरी परेको रहेछ, के कसो रहेछ भनेर हामीले बुझ्ने क्रममा प्रहरी कार्यालयमा झिकाएका हौं,’ उनले अनलाइनखबरसँग भने, ‘सोधपुछपछि मात्रै के कसो हो, थाहा हुन्छ । अहिले नै कुनै आरोप वा अरु के हो ? खुलेको छैन ।’

विचार तथा अभिव्यक्ति स्वतन्त्रताको वकालतकर्ता तारानाथ दाहाल सार्वजनिक वृत्तमा रहेको व्यक्तिको तस्वीर जलाउने कामलाई विरोधको एउटा स्वरुप मान्छन् ।

‘प्रचण्डको राजनीतिक वक्तव्यको विरोधमा तस्वीर जलाइएको हो । त्यो काम अभिव्यक्तिको एउटा प्रकार हो,’ नेपाल पत्रकार महासंघका पूर्वसभापतिसमेत रहेका दाहाल भन्छन्, ‘त्यत्तिको भरमा व्यक्ति पक्राउ हुनु आपत्तिजनक विषय हो । यस्ता गतिविधिले आलोचना र विरोधको दायरालाई साँघुरो बनाउँछ ।’

इन्टरनेटका माध्यमबाट हुने विरोध र प्रतिरोधका घटनामा प्रहरीले साइबर अपराधका मुद्दा चलाउने क्रम तीव्र छ । तर सार्वजनिक कार्यक्रममा तस्वीर जलाएकाले राप्रपाका युवा नेता बममाथि त्यो सम्भावना नभएपछि अभद्र व्यवहार वा त्यस्तै प्रकृतिको आरोपमा म्याद थपेर हिरासतमा राख्ने सम्भावना रहेको जिल्ला प्रहरी कार्यालयका एक प्रहरी बताउँछन् ।

सार्वजनिक पदमा रहेका व्यक्तिहरूको तस्वीर जलाउने कामलाई विश्वव्यापी रुपमा विरोधको प्रकार मानिने बताउँछन्, अधिवक्ता स्वागत नेपाल । उनका अनुसार, अभिव्यक्ति वा विरोधको रुपमा तस्वीर जलाउने कामले सम्बन्धित व्यक्तिलाई र मुलुकलाई समेत कुनै नोक्सान हुँदैन ।

‘यदि तस्वीर जलेको कारण आफ्नो गालीबेइज्जती भएको महसुस गर्छ भने सम्बन्धित व्यक्ति नै कानुनी उपचारका लागि अदालत जानुपर्छ,’ अधिवक्ता नेपाल भन्छन्, ‘राज्यसंयन्त्रको दुरुपयोग गरेर व्यक्तिलाई पक्राउ गर्नु गलत हो । यस्ता क्रियाकलापले ठालूहरूका लागि एउटा कानुन र सर्वसाधारणका लागि अर्को कानुन लाग्ने अवस्था भयो ।’

पत्रकार तारानाथ दाहाल २०५७ सालमा भएको एउटा घटना स्मरण गर्छन् । दलीय खिचातानी र संसदीय बेथिति चरम अवस्थामा पुगेका बेला कालाकार मोहन निरौलाले नेपाल पर्यटन बोर्डको हलमा ‘मुलुकमा भ्रष्टहरू बढेको, त्यसका लागि आफूले गिरिजाप्रसाद कोइरालालाई गोली हान्न तयार भएको’ भनी अभिव्यक्ति दिएका थिए ।

उक्त विवादास्पद अभिव्यक्तिपछि प्रहरीले राजावादी झुकावमा रहेका निरौलालाई पक्राउको तयारी गर्‍यो, उनी भूमिगत भए । पक्राउ परेका उनी जिल्ला अदालत काठमाडौंबाट धरौटीमा छुटेका थिए । पछि उनी निर्दोष ठहरिए ।

‘त्यस्तो आपत्तिजनक अभिव्यक्ति दिने व्यक्तिले त पछि अदालतबाट सफाइ पाए,’ पत्रकार दाहालले थपे, ‘तस्वीर जलाउने काम विरोधको सामान्य प्रक्रिया हो । त्यसबाट आफ्नो प्रतिष्ठामा क्षति भएको महसुस भए सम्बन्धित व्यक्ति अदालत जाने बाटो खुला छ । तर विरोध गर्नेहरूलाई पक्राउ गर्ने तहमा जान र राज्यसंयन्त्र असहिष्णु बन्न जरुरी छैन ।’

तस्वीर धरपकड प्रचण्ड राप्रपा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here