प्रकृतिलाई बिगारेर होइन सिँगारेर मुलुकको विकास गर्नुपर्दछ : राष्ट्रपति भण्डारी
२० मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिलाई बिगारेर होइन सिँगारेर मुलुकको विकास गर्नुपर्दछ भन्ने भावना नीति-निर्माणका सबै तहमा गहिरोसम्म स्थापित गर्नुपर्नेमा जोड दिएकी छन्।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालले लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानअन्तर्गत आज यहाँ आयोजना गरेको राष्ट्रिय कार्यक्रममा बोल्दै उनले भनिन्, ‘मानव र प्रकृति एकअर्कासँग जोडिएको उल्लेख गर्दै हाम्रो अस्तित्व पर्यावरणको सन्तुलनसँग गाँसिएको हुन्छ’।
यसलाई गहिरोसँग आत्मसाथ गर्दै जलवायु परिर्वतनले ल्याउने चुनौतीको सामना गर्न समुदायस्तरदेखि नै गरिने प्रयासमा महासङ्घजस्ता संस्थाको महत्वपूर्ण भूमिका रहने उनले बताइन्।
राष्ट्रपति भण्डारीले वनजंगलको संरक्षणद्वारा प्रकृतिलाई जोगाउने कार्यभार र अर्काेतिर महिला हिंसा उन्मूलनलगायत विविध सामाजिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेकामा महासंघलाई धन्यवाद दिइन्।
उनले वनको दीगो व्यवस्थापनका माध्यमबाट गरिने जनताको जीविकोपार्जनजस्ता कार्यले वातावरण र जैविक विविधताको संरक्षणका साथै जलवायु अनुकूलन र न्यूनीकरण, सामुदायिक विकास तथा आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन्।
महासंघले लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानमा विभिन्न चेतनामूलक सामाजिक कार्यक्रम सञ्चालन गरेकामा खुसी व्यक्त गर्दै राष्ट्रपति भण्डारीले अभियानमा सक्रिय भई सभ्य समाज निर्माण गर्ने कार्यमा सफलता मिलोस् भन्ने शुभकामना दिइन्।
उनले उक्त अभियानमा आफ्नो क्षेत्रबाट योगदान गर्न सरोकारवाला सबै सरकारी निकाय तथा सामाजिक सङ्घसंस्थालाई आह्वानसमेत गरिन्।
प्रतिक्रिया दिनुहोस्