प्युठानमा पहिरोले घर बगाउँदा बेपत्ता ६ जनामध्ये एक जनाको शव फेला
२१ असोज, काठमाडौं । प्युठानमा शुक्रबार दिउँसो पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जनामध्ये एक जनाको शव फेला परेको छ।
माण्डवी गाउँपालिका वडा नम्बर ४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिँदा ६ जना बेपत्ता भएका थिए। ६ जनामध्ये एक जनाको शव भने साँझ फेला परेको माण्डवी गाउँपालिकाका अध्यक्ष नवराज अधिकारीले जानकारी दिए।
फेला परेका एक जनाको शव निकाल्ने प्रयास भइरहेको र बाँकी ५ जना भने बेपत्ता नै रहेको उनले बताए।
जिल्ला प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाका अनुसार घटनास्थलमा पहिरो अझै गइरहेको छ।
‘निरन्तरको वर्षा र पहिरोका कारण हामी घटनास्थलतर्फ जान सकिरहेका छैनौं,’ थापाले भने, ‘सिम्लेखोलामा आएको बाढीले हामीलाई छेकेको छ।’
सेना, सशस्त्र प्रहरी र प्रहरीको टोली घटनास्थल जान हिँडे पनि ठाउँठाउँमा झरेको पहिरो र खोलाहरूमा आएको बाढीका कारण अझै पुग्न नसकेको उनले बताए।
घटनास्थलमा अझै निरन्तर पहिरो झरिरहेको भन्ने छ,’ डिएसपी थापाले भने, ‘घटनास्थल पुगेपछि मात्र के कसो हो भन्न मिल्ला।’
इलाका प्रहरी कार्यालय बिजुवारका प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र बानियाँले पनि आफूहरू घटनास्थल जान हिँडेको र जंगलमा रहेको जानकारी दिए।
‘बाढी पहिरोले जान सक्ने अवस्था छैन,’ उनले भने, ‘अहिले पनि हामी जंगलमै छौं।’
घटनास्थलमा रहेका माण्डवी गाउँपालिकाका अधिकारीले फेला परेको एक जनाको शव निकाल्न प्रयास गरिरहेको बताए।
‘यहाँ अँध्यारो भइसक्यो। एक जनाको शव पुरिएको अवस्थामा थोरै देखिएको छ,’ उनले भने, ‘हामी निकाल्ने प्रयास गरिरहेका छौं। शव महिलाको वा पुरुषको भन्ने पनि यकिन भइसकेको छैन।’
अध्यक्ष अधिकारीले दिउँसो साढे ३ बजेतिर पहिरोले घर पुरेको सूचना प्राप्त भएपछि आफू उद्धारका लागि केही बेरअघि घटनास्थल आइपुगेको बताए।
‘बीचमा ठूला खोलाहरू र भूगोल पनि जटिल भएकाले यही वडाको वडाध्यक्षज्यू यहाँ आउन सम्भव भएन। त्यसैले म आएको हुँ,’ उनले भने, ‘उपाध्यक्ष लगायतको टोली पनि घटनास्थल आउन थालेको भन्ने सुनेको छु। तर आइपुग्नुभएको छैन।’
गाउँपालिका अध्यक्ष अधिकारीले बेपत्ता ५ जना र शव फेला परेका एक जना गरी ६ जना सबै एकै घरपरिवारका नरहेको भन्ने बुझिएको जानकारी दिए। अधिकारीले दसैं मनाउन छोरीको घरमा आएका बुवाआमासमेत परेको कुरा सुन्नमा आएको बताए।
पहिरोमा पुरिनेमा ६० वर्षीय बमबहादुर राहु मगर र उनकी श्रीमती, २१ वर्षीया टेकी राहु मगर, ६० वर्षीय हिराबहादुर थापा, १८ वर्षीया मौसमी थापा र चार वर्षीय सुशान थापा रहेको उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्