पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन ट्रक व्यवसायीको माग
३० कात्तिक, बुटवल । पेट्रोलियम पदार्थमा हालै भएको मूल्यवृद्धि फिर्ता लिन ट्रक व्यवसायीले माग गरेका छन् । बारम्बार मुल्यवृद्धि भएपनि ढुवानी भाडा समायोजन नभएकाले यातायात व्यवसायीको पेशा संकटमा परेको भन्दै तत्काल मुल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेश र पश्चिमाञ्चल यातायात व्यवसायी समितिले संयुक्त विज्ञप्ति जारी गरी मुल्यवृद्धि फिर्ता नलिए साविक दररेटमा ढुवानी गर्न असमर्थ भई सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशका संयोजक यमप्रसाद पाण्डे र पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव जीतबहादुर भाटले जारी गरेको संयुक्त विज्ञप्तिमा मूल्यवृद्धिले ट्रक व्यवसायीलाई समस्यामा पारेकोले तत्काल फिर्ता गर्न नेपाल आयल निगमसंग माग गरिएको छ ।
२०७८ वैशाख ५ गते डिजलको मूल्य १०४ प्रतिलिटर रुपैयाँ हुँदा तय भएको ढुवानी भाडा हाल डिजलको मूल्य ११९ प्रतिरुपैयाँ हुँदा पनि नबढी सोही भाडामा ढुवानी गर्नु पर्दा व्यवसायी समस्यामा रहेको विज्ञप्तिमा उल्लेख छ ।
यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँ हेरफेर हुँदा सोही अनुरुप भाडा समायोजन गर्नुपर्ने व्यवस्था भए पनि त्यो कार्यान्वयन नहुँदा व्यवसायी मारमा परेको विज्ञप्तिमा भनिएको छ ।
पेट्रोलियम पर्दाथमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता नभए आन्तरिक आपूर्ति व्यवस्थामा पर्न जाने समस्याको जिम्मेवारी स्वयं सरकार र नेपाल आयल निगम हुने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्