पूर्वका बजारहरुमा सिटामोल र पारासिटामोल अभाव
१५ माघ, विराटनगर । औषधि उत्पादकहरुले पर्याप्त मात्रामा सिटामोल उत्पादन गरेको भएतापनि उपभोक्ताहरुले आवश्यकता भन्दा बढी सञ्चित गरेर राखेका कारण प्लेन सिटामोल र पारासिटामोल पूर्वका बजारहरुमा अभाव भएको छ ।
ज्वरो र रुघाखोकी लाग्दा खाइने सिटामोल र पारासिटामोल किन्न दैनिक एक दर्जन भन्दा बढी ग्राहक आउने गरेको विराटनगरका औषधि विक्रेता हरिमोहन श्रेष्ठले जानकारी दिए ।
उनले अन्य औषधि समेत रहेको पारासिटामोलको भने अभाव नरहेको र यसको मूल्य २ रुपैया देखि ४ रुपैया प्रति ट्याबलेटसम्म पर्ने बताए ।
सरकारले मूल्य निर्धारण गरेकाले सिटामोल र पारासिटामोलको मूल्य एक रुपैया प्रति ट्याबलेट पर्दछ ।
सिटामोलको अभाव भएको गुनासो आएपछि औषधि व्यवस्था कार्यालय विराटनगरले औषधि उद्योग र थोक विक्रेताहरुको पसल अनुगमन गरेको छ ।
अनुगमनको क्रममा सिटामोल उत्पादन गर्ने पूर्वका दुई वटा औषधि उद्योगमा ४ हजार केजी र ९ सय २० केजी सिटामोलको कच्चा पदार्थ रहेको र त्यसबाट करिब १ करोड २५ लाख ट्याबलेट उत्पादन गर्न सकिने औषधि व्यवस्था कार्यालयका निमित्त प्रमुख सञ्जिब शर्मा कट्टेलले जानकारी दिए ।
२०६४ सालमा निर्धारण भएको सिटामोलको मूल्य परिमार्जन गराउन औषधि उद्योगहरुले सिटामोलको उत्पादन घटाएकाले अभाव जस्तो देखिएको औषधि विक्रेताहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्