पुल्चोक क्याम्पसमा भ्रातृसंस्था उम्मेदवारलाई स्वतन्त्रले दिँदैछन् टक्कर

५ चैतमा हुने स्ववियु चुनावको तातो लगभग भेटघाट र भर्चुअल आह्वानमा सीमित छ । पुल्चोकमा २१ सदस्यका लागि चुनाव हुनेछ ।

३ चैत, काठमाडौं । स्ववियु चुनाव आँगनमै आइसक्दा पनि पुल्चोक इन्जिनियरिङ क्याम्पसको प्रांगणमा कुनै पर्चा पम्प्लेट थिएन । उम्मेदवारहरू नै एकले अर्कोलाई अंकमाल गर्दै भोट मागिरहेका थिए । यसपटक नारा जुलुस त झन् हुँदै भएन । भीड जम्मा पारेर कार्यक्रम पनि भएन ।

frontline

बरु फेसबुकले गरिदिएको सोसल इन्जिनियरिङ नै पुल्चोक क्याम्पसको चुनावो माहोल हो भन्नु स्वभाविक लाग्छ । ५ चैतमा हुने चुनावको तातो लगभग भेटघाट र भर्चुअल आह्वानमा सीमित छ ।

‘ल है तिम्रो प्रचार मैले फेसबुकबाट गर्दिएको छु,’ एक सदस्यका उम्मेदवारले अर्को सदस्यलाई भनिरहेका थिए ।

उम्मेदवारहरू भनिरहेका थिए– ‘नारा जुलुस गरेर भीड जम्मा पारेर हिँड्यो भने झन् मत घट्छ । मतदाताले तडकभडकलाई विश्वास गर्न छाडे ।’

यो इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको प्राङ्गणमा स्ववियु चुनावमा देखिएको दृश्य हो ।

मतदाता विद्यार्थीहरू पनि यसपटक पुल्चोकको प्रचार प्रसारको शैली देखेर अचम्मित परेका छन् । ‘यसपटक तडकभडक देखिएन । उम्मेदवारले भेटेर मत मागेका छन् । तर प्रचार प्रसार फेसबुकबाट गरेका छन्,’ स्नातक तहमा अध्ययनरत विद्यार्थी भेक्टर रिजालले भने ।

यसपटक अधिकांश उम्मेदवारले सामाजिक सञ्जालबाट चुनावको प्रचार प्रसार गरे ।

अरु क्याम्पसमा अशान्त, तोडफोड, तालाबन्दी हुँदा पुल्चोक क्याम्पस भने शान्त छ । उम्मेदवारहरू स्वस्थ प्रतिस्पर्धा गरिरहेका छन् । ‘थापाथलीमा तोडफोड भयो तर यहाँ केही भएन । पुल्चोकको राम्रो पक्ष हो,’ भेक्टरले भने ।

क्याम्पस प्रमुख सन्जिव उप्रेती पनि पुल्चोकमा कुनै बाधा व्यवधान बिना चुनावको तयारी भइरहेको बताउँछन् । ‘विद्यार्थीहरूले उत्सवको रुपमा लिनु भएको छ । तनावको स्थिति यहाँ छैन,’ उनले भने ।

केही युवाहरू प्राङ्गणको रुखमुनि बसेर कसलाई मत दिने, कसको योजना के छ, विमर्श गरिरहेका थिए ।

‘उम्मेदवारहरूको योजना राम्रो सँग थाहा छैन । उम्मेदवारहरूबीच डिबेट गरेको भए योजना सुन्न पाइन्थ्यो । कुन उम्मेदरलाई मत दिने भन्ने अलमलमा छु,’ विद्यार्थी रिजालले भने ।

त्यसपछि हामीले अध्यक्षका उम्मेदवारहरूसँग उनीहरूको योजनाबारे कुरा गर्न थाल्यौं ।

दोस्रो पटक मैदानमा विराज, नीतिगत सुधारको योजना

२०७९ मा भएको स्ववियु चुनावमा निर्वाचित भएका विराज अर्याल यसपटक पनि चुनावी मैदानमा छन् । एमएस्सी कन्स्ट्रक्सन म्यानेजमेन्टका विद्यार्थी अर्यालले अघिल्लो चुनावमा अनेरास्ववियुबाट ६ सय ३५ मत ल्याएर विजयी भएका थिए ।

उनका निकटम प्रतिद्वन्दी अखिल क्रान्तिकारीका उम्मेदवारले ५ सय ७१ मत ल्याएका थिए । आफ्नो विरासत जोगाउने योजनाका साथ दोस्रो पटक पनि अध्यक्षमा उठेको अर्याल बनाउँछन् ।

‘अघिल्लो पटक २० वटा योजना अगाडि सारेको थिएँ । धेरै काम पूरा भएको छ,’ उनले भने, ‘केही बाँकी काम पूरा गर्न फेरि उम्मेदवारी दिएको हुँ ।’ पहिलो कार्यकालमा पुल्चोकमा पानीको समस्या रहेकाले प्रदेश सरकारसँग समन्वय गरेर ६० लाखको पानीको बोरिङ बनाएको उनले सुनाए ।

‘पानीको ठूलो समस्या छ । प्रदेश सरकारसँग समन्य गरेर बोरिङ बनाएका छौं । अब पानी आउने अन्तिम चरणमा छ,’ विराजले भने, ‘महानगरसँग मिलेर क्रिकेट मैदानको स्तरोन्नति गर्न सफल भएका छौं । अब नयाँ काम गर्ने बाचासहित चुनावी मैदानमा आएको छु ।’

विद्यार्थीको समस्यामा सहजीकरण, साना साना काममा बढी फोकस भएकाले अब नीतिगत र संरचनागत सुधार गर्ने योजना रहेको उनले बताए ।

‘स्थानीय, प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर होस्टेल बनाउनु पर्नेछ । यसको समन्वय गर्नुपर्ने छ । अब फेयरको आयोजना गर्ने योजना छ । सिपमुलक तालिम, इन्टर्नको अवसर, इनोभेसनको कार्यक्रम अगाडि सारेको छु,’ उनले भने, ‘नास्ट र विश्वविद्यालय अनुदान आयोगसँग मिलेर काम गर्ने योजना छ ।’

रिसवको योजना : स्टार्टअप र पेड इन्टर्नको प्रवर्द्धन

अघिल्लो स्ववियु सदस्यमा निर्वाचित भएका रिसब गिरी यसपटक कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघबाट अध्यक्षको उम्मेदवारी बनेका छन् । सदस्य भएर काम गर्दा विद्यार्थीको मन जितेकाले आफू अध्यक्षको उम्मेदवार भएको बताउँछन् ।

स्नातक तहको केमिकल इन्जिनियरिङको चौथो वर्षमा अध्ययनरत उनले स्टार्टअप र पेड इन्टर्नको अवधारणा अगाडि सारेका छन् । ‘इनोभेसेन, इन्क्युभेसन, रिसर्चमा काम गर्ने योजना छ । स्टार्टअप को संस्कार छैन । यसलाई विकास गर्नु पर्ने छ । रोजगारका लागि पेड इन्टर्नको कार्यक्रम ल्याउने योजना छ,’ उनले भने ।

क्याम्पसमा विद्यार्थीको समस्या धेरै रहेकाले समाधानको पहल गर्न आफूले उम्मेदवारी दिएको उनले बताए । ‘क्याम्पसले विद्यार्थीलाई सेवा सुविधा दिन सकेको छैन । विद्यार्थीको हकमा काम गर्ने स्ववियु बनाउने योजना छ,’ उनले भने ।

रसिकको योजना : शैक्षिक गुणस्तरको उचाइ दिने

माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट रसिक लम्सालले अध्यक्षको लागि उम्मेदवारी दिएका छन् । स्नातक तहको सिभिल इन्जिनियरिङको चौथो वर्षमा अध्ययनरत उनले शैक्षिक गुणस्तरको मुद्दालाई उठाएका छन् ।

‘शुल्क वृद्धि हुँदा आवाज उठाएका छौं । पुल्चोक क्याम्पस कुनै समय एसियाको टप थियो । अहिले गुणस्तर घटेको छ । क्याम्पसलाई नयाँ उचाइ दिन उम्मेदवारी दिएको हुँ,’ उनले भने, ‘ठूलो प्राविधिक क्याम्पस भनिरहदा सनासाना समस्या छन् । खानेपानी र इन्टरनेट समस्या छ ।’

विद्यार्थीको आधिकारिक संस्था स्ववियु हो भन्ने बनाउने योजना रहेको उनले सुनाए । ‘विद्यार्थीको आवाज बोल्ने स्ववियु बनाउँछु,’ उनले भने । अघिल्लो स्ववियु चुनावमा क्रान्तिकारी दोस्रो भएको थियो ।

आयुषको योजना शिक्षकलाई जवाफदेही बनाउने

नेकपा एस निकट विद्यार्थी संगठन अनेरास्ववियूबाट अध्यक्षको उम्मेदवारी दिएका आयुष सापकोटाको क्याम्पसमा शिक्षकबाट धेरै लापरबाही हुने गरेको देख्छन् । स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत सापकोटा शिक्षकबाट हुने लापरबाही रोक्न आफूले अध्यक्षको उम्मेदवारी दिएको बताउँछन् ।

‘अरु विद्यार्थी संगठनले नउठाएको मुद्दामा काम गर्ने सोच छ । शिक्षकविरुद्ध कसैले पनि आवाज उठाउँदैनन् । दायित्त्वबाट पन्छिने शिक्षकलाई सचेत गराउने हो,’ उनले भने ।

क्याम्पसमा शैक्षिक वानवरण बनाउन पहल गर्ने उनले बताए । ‘पढाइ राम्रोसँग हुँदैन । शिक्षक आएर पनि पढाउदैनन् । शिक्षक र प्रशासनलाई प्रश्न गर्नुपर्ने छ,’ उनले भने, ‘रिसर्च फेयर छैन । यसलाई रोक्नुपर्ने छ ।’

संगठनका उम्मेदवार विरुद्ध दुई स्वतन्त्र उम्मेदवार

पुल्चोक क्याम्पसमा दुई जना अध्यक्षका स्वतन्त्र उम्मेदवार छन् । स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत स्वयं श्रेष्ठ र स्नातकोत्तर स्ट्रक्चरल इन्जिनियरिङमा अध्ययनरत दीपक जोशीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

विद्यार्थीको प्रतिनिधि विद्यार्थी हुनुपर्ने दलबाट हुन नहुने भन्दै स्वतन्त्र उम्मेदवारी दिएको श्रेष्ठ र जोशी बताउँछन् ।

‘विद्यार्थीको प्रतिनिधि दलको हुनुपर्छ भन्ने भाष्य तोड्नुपर्छ । विद्यार्थीको प्रतिनिधि विद्यार्थी नै हुनुपर्छ भनेर स्वतन्त्र उम्मेदवारी दिएको हुँ,’ श्रेष्ठले भने, ‘विद्यार्थीको आवाज विद्यार्थीले उठाउने हो ।’

१६ बुँदे योजना बनाएर आफू चुनावी मैदानमा उत्रिएको उनले बताए । ‘विद्यार्थी पार्टीको हुँदैन । विद्यार्थीको लागि १६ बुँदे योजना अगाडि सारेको छु,’ उनले भने ।

क्याम्पसमा समस्याको चाङ रहेकाले समाधान गर्ने योना सुनाउँछन स्वतन्त्र उम्मेदवार जोशी ।

‘दलहरूका संगठनले काम गर्ने तरिका र सोच मन नपरेकाले स्वतन्त्र उठेको हुँ । यहाँ राम्रो शौचालय छैन । ल्याबसमा समस्या छ । लाइब्रेरीको समय १८ घण्टा बनाउनु पर्छ । सबै समस्या सुधार गर्ने योजना छ,’ उनले भने ।

उनी २०७९ मा इन्जिनियरिङ विद्यार्थी समाजको अध्यक्षतमा पनि उठेका थिए । तर प्रतिस्पर्धि र उनको बराबर मत पाएपछि गोलाप्रथा गर्दा उनी पराजित भएका थिए ।

इलेक्ट्रोनिक भोटिङ, मतदाता ३८०७

स्ववियुमा २१ सदस्यको हुनेछ । जसमा ११ जना प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । अध्यक्ष, सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचित हुन्छन् ।

उपाध्यक्ष र उपसचिव २१ जना सदस्य निर्वाचित भएपछि त्यसबाट चयन गरिनेछ । अध्यक्षको लागि ६ जना, सचिवमा ३ जना, कोषाध्यक्षमा ४ जना र सदस्यसहित ४२ जनाको उम्मेदवारी परेको क्याम्पसका सहायक क्याम्पस प्रमुख राम एकवाल यादवले बताए । उनका अनुसार समानुपातिक सदस्यमा ४० जनाको उम्मेदवारी परेको छ ।

मतदातको संख्या ३ हजार ८०७ जना रहेका छन् । यी मतदाताले स्ववियुको नेतृत्व छान्ने छ । क्याम्पसका अनुसार इलेक्ट्रोनिक मेसिनबाट मतदान हुनेछ । ‘मतदान सकिएको १ घण्टाभित्र नै नतिजा आउँछ,’ यादवले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here