पुटिनलाई कोरोनाबाट जोगाउन सयौं अधिकारीलाई क्वारेन्टिनमा राखियो ।
फ्रन्टलाइन, विश्व परिवेश । रूसका राष्ट्रपति भ्लादिभिर पुटिनलाई कोरोना संक्रमण हुन नदिन सयौं अधिकारीहरूलाई क्वारेन्टिनमा राखिएको खुलेको छ। महामारी सुरुवात भएदेखि नै पुटिनको सुरक्षा निम्ति हरसम्भव कोशिस जारी राखिएको छ। यस क्रममा रूसी प्रशासनले असाधारण तरिका पनि अपनाइरहेको थाहा लागेको हो।
पुटिनलाई कोरोनाबाट जोगाउन क्वारेन्टिनमा समेत विशेष निगरानी राखिएको छ। क्वारेन्टिनमा नबसेका कसैले पनि पुटिनसँग भेट्न नपाउनेगरी व्यवस्था मिलाइएको छ। अघिल्लो वर्षपनि पुटिनसँग सम्पर्कमा रहेका सयौं मानिसहरूलाई क्वारेन्टिनमा राखिएको थियो। उनीसँग प्रत्यक्ष भेटघाट नगरेका मानिसलाई पनि त्यहाँ बस्न बाध्य पारिएको थियो।
यस क्रममा रूसी विमान सेवा रोसियाको एक विशेष उडानमा राष्ट्रपति पुटिनको सेवामा खटिएका चालक दलका सदस्य र सबै सरकारी अधिकारीलाई सन् २०२० मार्च २६ तारिखबाट क्वारेन्टाइनमा राखिएको थियो। उनीहरूलाई राजधानी मस्कोनजिकै एक होटलमा राखिएको बीबीसीमा उल्लेख छ।
त्यसपछि पनि सयौं पाइलट, स्वास्थ्यकर्मी, सवारीचालक, अन्य सहायक कर्मचारी र राष्ट्रपति पुटिनसँग भेट्ने तारतम्य मिलाएका सयौं मानिसहरूलाई दर्जनौं होटलहरूमा बनाइएको क्वारेन्टिनभित्र राखिएको थियो।
यी सबै सावधानीको एउटै कारण राष्ट्रपति पुटिनलाई कोरोना संक्रमणबाट जोगाउनु रहेको बताइएको छ। पुटिनले हालै स्वदेशमै बनेको कोरोनाविरुद्धको एक भ्याक्सिन लगाएको खबर बाहिरिएको थियो। तर, खोपको नाम भने अहिलेसम्म खुलाइएको छैन।






प्रतिक्रिया दिनुहोस्