पालिकाको ऐन कार्यान्वयनमा अदालत बाधक भएपछि..

स्थानीय सरकारले सुशासनका लागि बनाएको ऐन कार्यान्वयनमा अदालतले हस्तक्षेप गरेपछि मनरा शिसवा नगरपालिकाको मदिराको कारण हुने आतंक नियन्त्रणमा समस्या भएको छ । 

सीमा पारीबाट मदिरा सेवन गर्न आएर नगरपालिकामा आतंक बढाउन थालेपछि नगरपालिकाले मदिरा नियन्त्रण गर्ने निर्णय गरी ऐन बनाएको थियो । नगरपालिकाको ६ वटा वडा भारतको सीमासँग जोडिएको छ । 

frontline

नगरपालिकाका प्रमुख मोहन पाण्डेयका अनुसार नगरसभाबाट ऐन पारित गरेपछि गत माघदेखि ६ वटा वडालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको थियो । वडा नं २, ३, ५, ८, ९ र १० मा मदिराको उत्पादन र बिक्री वितरणमा निषेध तथा बाँकी वडा नं १, ४, ६ र ९ मा मदिरा बिक्री वितरणमा कडाइ गरिएको उनले बताए । 

कडाई गरिएका क्षेत्रका सार्वजनिक कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा मठमन्दिरको वरिपरि तीनसय मिटरको दूरीभित्र मदिराको बेचबिखन तथा सेवनमा निषेध गरिएको थियो । 

गत पुस ३० गते बसेको नगरपालिकाको १०औँ नगरसभाले मदिरा नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी ऐन, २०७९ जारी गरेर मदिरा निषेधन तथा कडाइ गरेको नगरप्रमुख पाण्डेयले बताए । सो ऐनमा मदिरा सेवन गर्न अनिवार्य परिचयपत्र बनाउनुपर्ने नियम समेत समावेश थियो । 

तर, हाल सो ऐन कार्यान्वयमा आउन सकेको छैन । नगरपालिकाले मदिरामा कडाई गरेपछि मदिरा व्यवसायीले सर्वोच्चमा रिट दिएको नगरप्रमुख पाण्डेयले बताए । सर्वोच्चले नगरपालिकाले जारी गरेको ऐन तत्काल कार्यान्वयनमा नल्याउनू भनी अन्तरिम आदेश दिएपछि ऐन कार्यान्वयनमा ल्याउन नसकिएको पालिकाखबरलाई बताए ।  

नगरपालिकाका अनुसार २०७९ फागुन १७ गतेको सर्वोच्चको इजलाशले नगरपालिकाको ऐन लागु गर्दा सुविधा सन्तुलनको दृष्टिकले मनासिव नरहेको भन्दै अन्तिम किनारा नलागेसम्मका लागि कार्यान्वयन नगर्न/नगराउन आन्तरिम आदेश दिएको हो । 

सीमा पारीबाट आपराधिक कृयाकलापमा संलग्न भएका मानिसहरू आएर मदिरा सेवन गर्दा आपराधिक क्रियाकलाप बढेकाले मदिरामा कडाई गर्न आवश्यक भएको उनको भनाइ छ । तर, अदालतले नगरपालिकाको ऐन बनाउने अधिकारमाथि हस्तक्षेप गरेकोप्रति उनले असन्तुष्टी व्यक्त गरे । ‘ ऐन कानुन बनाउने अधिकार स्थानीय सरकारसँग पनि छ । तर, स्थानीय सरकारले गरेका काममा सर्वोच्चले धेरै हस्तक्षेप गर्छ।’ उनले भने, ‘स्थानीय सरकारको अधिकार सूचीमा नै परेको कुराको ऐन त बनाउन पाउनु पर्ने हो ।’ 

ऐन कार्यान्वयन गर्न नपाए पनि नगरपालिकाका सबै वडामा मदिरा बेचबिखन गर्न कडाइ गरिएको उनले जानकारी दिए । नगरप्रमुख पाण्डेयको अनुसार पालिकाभित्र दिउँसो ४ बजेदेखि ८ बजेसम्म मात्र मदिरा बिक्री वितरण गर्न दिइएको छ ।  

तोकिएको समय बाहेक मदिरा बिक्री वितरण गरेको छ की छैन भनेर नगर प्रहरीले अनुगमन गर्ने उनले जानकारी दिए । नगरपालिकाले मदिरा बेचविखनमा कडाइ गरेयता पहिलेको तुलनामा झैझगडा र अशान्ति फैलाउने जस्ता क्रियाकलापमा कमी आएको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here