पार्टीको ह्विप नमान्नेलाई कारबाही गर्ने प्रमुख सचेतक विशाल भट्टराईको चेतावनी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिले पनि एक सयभन्दा बढी सांसद रहेको दाबी गरेका छन्।संसदमा आवश्यक परे त्यो देखाउन आफूहरू तयारी अवस्थामा रहेको भट्टराईको भनाइ छ।शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले अहिले पनि प्रधानमन्त्री ओलीको पक्षमा बहुमत सांसद रहेको जिकिर गरेका हुन्।उनले भने,‘प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला चलाइएको छ, तर म दावाका साथ भन्छु-उहाँ बहुमतमा हुनुहुन्छ। आवश्यक पर्दा त्यो हामी देखाउन तयार छौं। उहाँको पक्षमा संख्याको कुरा गर्नुहुन्छ भने पनि एक सयभन्दा बढी सांसद छन्।’

उनले जनताले नेकपालाई झण्डै दुई तिहाइ बहुमत दिएर पठाएको तर पार्टीभित्रकै केही नेताहरूको स्वार्थका कारण दुई वर्ष नपुग्दै प्रधानमन्त्री ओलीलाई हटाउने खेल सुरू भएको सुनाए।उनले भने,‘प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउने खेल सुरू भयो, यसको आभाष पाउनेबित्तिकै उहाँसँग दुई वटा विकल्प थिए, एउटा आत्मसमर्पण गर्ने, अर्को संसद विघटन गर्ने, यो बाहेक उहाँसँग अर्को विकल्प थिएन। उहाँले भारी मनका साथ प्रतिनिधिसभा विघटन गर्नुभयो।’प्रतिनिधिसभा विघटन भएपछिको यो दुई महिनाको अवधिमा आफूहरू पार्टीलाई जनस्तरसम्म लिएर जान सफल भएको पनि उनको भनाइ छ। सर्वोच्च अदालतले पुस ११ गते प्रतिनिधिसभा पुनःस्थापना गरेको फैसलालाई आफूहरूले सम्मान गर्ने पनि उनले सुनाए।उनले सर्वोच्च अदालतको फैसलाबमोजिम सरकारले प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गतेका लागि बोलाउन सिफारिस गरिसकेको जनाए।संसद प्रधानमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव आए आफूहरूले त्यहीँ प्रतिवाद गर्ने पनि भट्टराईले जनाए।

frontline

उनले आफूहरूले प्रचण्ड र माधव कुमार नेपाललाई अहिलेसम्म कारबाही नगरेको पनि जनाए।तर, चितवनको सभास्थल छोडेर काठमाडौं आएका दाहाल–नेपाल हस्याङफस्याङ गर्दै अर्को पार्टीका सभापतिलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्दै गएको भन्दै उनले आलोचना गरे।उनले प्रचण्ड र माधव नेपाललाई पनि अहिले पनि सच्चिने ठाउँ रहेको सुनाए।तर, त्यसको लागि प्रचण्डले पार्टी कमिटी बैठकमा पेश गरेको १९ पृष्ठ लामो आरोपपत्र फिर्ता गर्नुपर्ने शर्त राखेका छन्। उक्त आरोपपत्र फिर्ता, संसदको पूरा अवधि नै केपी ओली प्रधानमन्त्री र अर्को महाधिवेशनसम्म अध्यक्ष स्वीकार गर्नुपर्ने उनले धारणा राखे।संसदको अधिवशेन (फागुन २३) गते अघि नै आफूहरूको संसदीय दलको बैठक बस्ने उनले जानकारी दिए।उक्त बैठकमा सहभागी हुनको लागि दाहाल–नेपाललाई पनि उनले आग्रह गरे।तत्काल नआए पनि केही नगर्ने उनले जनाए। प्रधानमन्त्री ओलीविरूद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भए आफूहरूले डटेर सामना गर्ने उनले जनाए। तर, पार्टीका सांसदहरूले पार्टीको ह्विप उल्लंघन गरे विधानअनुसार कारबाही गरिने पनि उनले चेतावनी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here