पाटन क्याम्पसमा विद्यार्थीको प्रदर्शन : ‘नो भ्याक्सिन, नो एक्जाम’

श्रोत : ईन्टरनेट

शनिबार, पाटन । ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा शुक्रबार विद्यार्थीहरू बेग्लै तनावमा देखिए। परीक्षा दिन गएका उनीहरूको हातमा कलम मात्र थिएन- ‘नो भ्याक्सिन, नो एक्जाम’ लेखिएका प्लेकार्ड थियो।

पाटनमा समाजशास्त्र संकायअन्तर्गत स्नातकोत्तर तह तेस्रो सेमेस्टरको परीक्षा चलेको शुक्रबार दोस्रो दिन हो।

frontline

कोरोना महामारीका बेला करिब नौ सय विद्यार्थीलाई पाटन क्याम्पसमै राखेर परीक्षा चलाएको विरोधमा परीक्षार्थी प्रदर्शनमा उत्रिएका हुन्।

आज दिउँसो १ बजेदेखि परीक्षा सुरू हुँदै थियो। तर १२ बजेदेखि नै विद्यार्थीहरू परीक्षा केन्द्रमा स्वास्थ्य मापदण्ड लागू गरिनुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका थिए।

उनीहरूले विद्यार्थीलाई कोरोनाविरूद्ध खोप लगाउनुपर्ने माग राखेका छन्।

विद्यार्थीको देश खोइ? डन्ट प्ले इन स्टुडेन्ट लाइफ, नो भ्याक्सिन नो एक्जाम, विद्यार्थीको स्वास्थ्य र जीवनमाथि खेलबाड गर्न बन्द गर र स्वास्थ्य मापदण्ड लागू गर’ भन्दै विद्यार्थीले प्रदर्शन गरेका थिए।

तर क्याम्पस प्रशासनले विद्यार्थीका माग सुनेन। बरू समयमै परीक्षा गर्‍यो। एउटा कक्षामा ५० देखि एक सय जनासम्म परीक्षार्थी राखिएको थियो।

‘दिनानुदिन कोरोना संक्रमित बढ्दैछन्। यस्तो अवस्थामा एकै बेन्चमा दुई जना र एकै कक्षामा एक सय जना विद्यार्थी राखेर परीक्षा लिइएकोमा हामीले विरोध गरेका हौं,’ परीक्षार्थी योगेन्द्र रावलले भने।

रावलका अनुसार एकै कक्षामा तीन लहरमा विद्यार्थीलाई राखेर परीक्षा लिइएका छन्। यसले कोरोना संक्रमण फैलाउन मद्दत पुर्‍याउँछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षा तथा तालिमहरू भौतिक रूपमा गर्नुपरे एउटा कक्षामा २५ जनासम्म राख्न सकिने भनेको छ।

कक्षाकोठा कम भएको पाटन क्याम्पसमा समाजशास्त्रका विद्यार्थीलाई राखिएको थियो।

‘त्रिवि, पिके, पाटन, आरआरलगायत समाजशास्त्र पढाइ हुने क्याम्पसका विद्यार्थी सबैलाई पाटनमै एकै केन्द्रमा राखेर परीक्षा लिइएको हो। यसले गर्दा सामाजिक दूरी कायम त भएन नै स्वास्थ्य मापदण्ड पनि पालना गरेको देखिएन,’ रावलले भने।

त्रिविले स्नातक तहका विद्यार्थीलाई भने होम सेन्टरमै परीक्षा चलाएको छ। तर स्नातकोत्तर तहलाई भने एकै केन्द्रमा राखेर परीक्षा लिइएको छ।

विद्यार्थीले परीक्षा केन्द्रमै प्रदर्शन गरेको थाहा पाएपछि त्रिवि समाजशास्त्र विभागबाट अनुगमनका लागि पदाधिकारीहरू आज पाटन क्याम्पस पनि पुगेका थिए।

‘स्नातकोत्तरका विद्यार्थीलाई होम सेन्टरमा नराख्ने नीतिअनुसार एकै क्याम्पसमा विद्यार्थी राख्दा भिडभाड देखियो। यो सच्याउनुपर्ने छ,’ अनुगमनमा पुगेका एक पदाधिकारीले भने।

ती पदाधिकारीका अनुसार गत वर्ष कोरोना जोखिमका बेला परीक्षा लिँदा धेरै परीक्षा केन्द्र थिए। समाजशास्त्रकै परीक्षा पनि एक बेन्चमा एक विद्यार्थी राखेर त्रिविलगायत केन्द्रबाट लिइएको थियो।

धेरै कक्षाकोठा भएको त्रिविमा यसपटक समाजशास्त्रको परीक्षा केन्द्र नै राखिएन। यसमा समाजशास्त्र डिन कार्यालय र विभागीय प्रमुखबाट कमजोरी भएको परीक्षार्थीहरू बताउँछन्।

यसबारे त्रिवि मानविकी तथा समाज शास्त्र केन्द्रीय विभागकी डिन प्राध्यापक डाक्टर कुशुम शाक्यसँग सोध्दा उनले केही कमजोरी भएको बताइन्।

‘त्यहाँ राम्रोसँग परीक्षा केन्द्र व्यवस्थापन मिलाउन क्याम्पस प्रमुखलाई भनेको छु,’ उनले भनिन्, ‘त्यहाँ पर्याप्त मात्रामा परीक्षा सञ्चालन गर्ने कक्षाकोठा नभए अन्यत्र व्यवस्थापन मिलाउन भनिसकिएको छ।’

उनले समाजशास्त्र संकायको परीक्षा केन्द्र भने पाटनमा मात्रै राखिएको बताइन्।

‘एकै ठाउँमा राख्दा सहज हुन्छ भनेर हो,’ उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here