पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले पाँच वर्षसम्म चुनावमा प्रतिस्पर्धा गर्न नपाउने

४ कात्तिक, काठमाडौं । पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई आउँदो पाँच वर्षसम्म चुनावमा प्रतिस्पर्धा गर्न अयोग्य घोषणा गरेको छ ।

सरकारमा रहेको बेला पाएका उपहार बिक्री गर्दा पाएको रकमबारे जानकारी नगराएको र सम्पत्ति विवरण सार्वजनिक गर्दा स्रोत नखुलाएको भन्दै आयोगले खानलाई चुनावमा प्रतिस्पर्धा गर्न अयोग्य घोषणा गरेको बीबीसी हिन्दीले जनाएको छ ।

frontline

पाकिस्तानी कानुनअनुसार सांसदहरूले प्रत्येक वर्ष निर्वाचन आयोगमा सम्पत्ति विवरण बुझाउनुपर्छ । प्रधानमन्त्री शहबाज शरीफको दल मुस्लिम लीगका नेता बैरिस्टर मोहसिन नवाज रांझाले इमरान खानले उपहारबारे ढाँटेको भन्दै उजुरी दिनुभएको थियो ।

त्यही उजुरीको आधारमा प्रमुख निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजा नेतृत्वको बेञ्चले इमरानले पाँच वर्ष चुनावमा प्रतिस्पर्धा गर्न नपाउने फैसला गरेको हो ।

आयोगले गरेको फैसलाअनुसार गलत बयान दिएको आरोपमा इमरानमाथि कारबाहीसमेत सुरु हुन सक्ने बताइएको छ । पाकिस्तान तहरिक ए इन्साफका अध्यक्षसमेत रहेका खान २०१८ को अगस्टदेखि २०२२ को अप्रिलसम्म पाकिस्तानको प्रधानमन्त्री बन्नुभएको थियो ।

एक हप्ताअघि भएको उपचुनावमा खान सात ठाउँबाट सङ्घीय संसद्को उम्मेदवार बनेकोमा ६ ठाउँमा विजयी हुनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here