पहिलो पटक एउटै मञ्चमा आउँदै एमालेको स्थानीयदेखि केन्द्रीय नेतृत्व
नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा तीन हजार ५१४ जना सहभागी हुने जनाएको छ।
भेलामा एमालेको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसम्मको सहभागिता रहने भएको छ। यसलाई आगामी स्थानीय तह निर्वाचनको तयारी र पार्टीको वैचारिक तथा संगठनात्मक एकता सुदृढ गर्ने अवसरका रूपमा लिएको एमालेले जनाएको छ।
सोमबार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिए। उनले भेलामा केन्द्रिय नेतृत्वदेखि पालिका तहसम्मका नेता तथा जनप्रतिनिधिको सहभागिता रहने बताए।
उनकाअनुसार एमालेको इतिहासमा पहिलोपटक पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्व र संघीय संसददेखि स्थानीय तहसम्मका जनप्रतिनिधि एउटै मञ्चमा सहभागी हुनेगरी राष्ट्रिय भेलाको आयोजना गरिएको हो। सहभागी संख्याका आधारमा महाधिवेशनपछिको ठूलो कार्यक्रमका रूपमा भेलालाई लिइएको उनले बताए।
भेलाको मुख्य उद्देश्य आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारी गर्नु, पार्टीका निर्णय र राजनीतिक बुझाइमा एकरूपता कायम गर्नु तथा वैचारिक र संगठनात्मक एकतालाई थप मजबुत बनाउनु रहेको आचार्यले बताए।
मुलुकमा पछिल्लो समय देखिएको कुशासन, राजनीतिक अन्योल र निराशालाई चिर्दै जनतामाझ नयाँ आशा र ऊर्जा सञ्चार गर्ने लक्ष्य पनि भेलाले राखेको उनको भनाइ छ।
भेलाको उद्घाटन मंसिर २ गते बिहान ११ बजे एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ। भेलामा अध्यक्ष ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशाबारे सम्बोधन गर्नेछन्।
त्यस्तै, एमाले वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समसामयिक राजनीतिक विषय र पार्टीका कार्यभारबारे विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए। भेलामा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले संसदीय संघर्षसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने भएका छन्।
अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा गरिएका महत्त्वपूर्ण काम तथा उपलब्धिहरूको समीक्षा प्रस्तुत गर्नेछन्। महासचिव शंकर पोखरेलले पार्टी सुदृढीकरण, शुद्धीकरण तथा स्थानीय निर्वाचनसम्बन्धी कार्ययोजना प्रस्तुत गर्ने कार्यक्रम रहेको आचार्यले जानकारी दिए।
भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, प्रवासी नेपाली मञ्चका प्रतिनिधि र पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष सहभागी हुनेछन्। त्यसैगरी संघीय सांसद, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, पालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र जनसंगठनका प्रतिनिधिको पनि सहभागिता रहनेछ।
राष्ट्रिय भेलामा सहभागी सबैबाट स्थानीय निर्वाचन केन्द्रित सुझाव लिखित रूपमा संकलन गरिने एमालेले जनाएको छ। यसबाट आगामी निर्वाचनको रणनीति र पार्टीको संगठनात्मक तयारीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
भेलाको व्यवस्थापनका लागि १९० जना स्वयंसेवक परिचालन गरिनेछ। सहभागीको आवासको व्यवस्था आफैँ गर्नुपर्ने भए पनि त्यसो गर्न नसक्नेहरूका लागि सम्बन्धित जिल्ला सम्पर्क कमिटीले समन्वय गर्ने उनले बताए।
स्वास्थ्य सेवाका लागि कार्यक्रमस्थलको मुख्य प्रवेशद्वारमा स्वास्थ्य सहायता कक्ष राखिने र सवारी पार्किङको व्यवस्था पार्टी केन्द्रीय कार्यालय च्यासलमा मिलाइएको आचार्यले बताए।






प्रतिक्रिया दिनुहोस्