पहिलेको बाँसबारी : अहिलेको बन्चरेडाँडा
२९ जेठ, काठमाडौं । उद्योगधन्दा, कलकारखानाको विषय आउँदा प्रायः सबैले लिने नाम हो, बाँसबारी छालाजुत्ता कारखाना । काठमाडौंको महाराजगञ्ज, बाँसबारीस्थित हाम्रो घरको उत्तर-पश्चिममा थियो, बाँसबारी कारखाना।
चीनको सहयोगमा २०२२ सालमा छालाजुत्ता कारखाना स्थापना भयो। त्यतिवेला यो कारखानाले झण्डै पाँच सय जनालाई रोजगारी दिएको थियो।
बिहान ९ बजे काम शुरू हुन्थ्यो। दिउँसो खाजा खाने समय १ बजे तोकिएको थियो भने साँझ ५ बजे काम सकिँथ्यो, कामदारले छुट्टी पाउँथे।
तीनै समयमा टिङटिङ घण्टी बज्थ्यो। त्यससँगै प्रत्येक घण्टा समय जनाउने घण्टी पनि बज्थ्यो। टोलका बासिन्दाका लागि त्यही घण्टी समयको सूचक हुन्थ्यो।
कारखानाका कर्मचारी बिहान हाम्रै बारीको छेउ भएर काममा जान्थे भने बेलुका त्यसै गरि लाम लागेर फर्कन्थे । घण्टीको आवाज नसुनेका या सुन्न नपाएका स्थानीय बासिन्दा त्यहि लाम देखेर समय खुट्याउँथे।
सवारी साधनको सुविधा नहुने कर्मचारी हाम्रो खेतको बाटो प्रयोग गर्थे। अन्य कर्मचारी लिन ट्रकको पनि व्यवस्थ थियो। उत्तरको बुढानिलकण्ठ, दक्षिणको जावलाखेलसम्म ट्रक पुग्थ्यो। बिहान-बेलुका यी ट्रक आउने-जाने समयमा सडक भरिभराउ हुन्थ्यो। अन्य समय प्रायः सडक सामसुम झै हुन्थ्यो।
त्यस्तै, १२ बजे टुंडिखेलमा मध्याह्नको सूचक तोप पड्किन्थ्यो। त्यो तोपको आवाज बाँसबारीसम्म सुनिन्थ्यो । बुढापाका त्यहि सूचक अनुसार चल्थे। अहिले अमेरिकाको भर्जिनियास्थित उडब्रिजमा बसेर यो लेख्दा आफैलाई अचम्म लागेको छ।
यसको सञ्चालनमा सहयोगार्थ आएका चिनियाँ कर्मचारीको लागि कारखानाको ठीक दक्षिणतिर २५ वटा जति स-साना आवासगृह बनाइएका थिए।
उनीहरू जे पनि खाने भएकाले मेरा साथीहरू काग, चिल आदिको शिकार गरेर दिन्थे। त्यसको सट्टामा माओ अंकित ब्याज तथा पाउरोटी दिनेगर्थे।
हामी त्यो पाउरोटी खान पाउँदा मख्ख पर्थ्यौं। ब्याज लगाएर हिड्थ्यौं। पछि सरकारले माओ अंकित ब्याज वितरणमा रोक लगायो। त्यतिवेला भने म जनकपुर पुगिसकेको थिएँ।
बहुदलीय व्यवस्था आएपछि बाँसबारी छालाजुत्ता कारखाना निजीकरण गरियो। पछि २०५२ सालबाट त्यहि स्थानमा शहीद गंगालाल हृदय केन्द्र स्थापना भयो। छालाजुत्ता कारखाना ईतिहास भयो।
बाँसबारी छालाजुत्ता कारखानासँग अहिलेसम्म सबैले मोह देखाउँदै आए पनि स्थानीय बासिन्दाले भने सास्ती खेप्थे। कारखानाबाट फालिएको आलो छाला, बेलुका प्रशोधनबाट निस्किएको दुर्गन्ध मिश्रित धुँवा तथा प्रशोधन गरि मिल्काइएको रगत मिसिएको रातो पानी नजिकको खहरेमा फालिन्थ्यो। त्यो खहरेको दुषित पानी मण्डीखाटार हुँदै धोबीखोलामा मिसिन्थ्यो। खहरे छेउछाउका बालीनाली नष्ट हुन्थे।
अझ बेलुका खाना खान बस्ने वेला सास्ती हुन्थ्यो। यो दुर्गन्ध टोलका घरघरमा प्रवेश गर्थ्यो। त्यतिमात्र नभई कारखानाको पछाडि पूर्वपट्टी पर्खालबाहिर प्रशोधनपछि फालिएका आलो छाला तथा अन्य अङ्गहरू जस्तै भुँडी, हाडमासु स्थानीय कुकुर तथा चिल, काग लगायत चराचुरुङ्गीले बोकेर घरका छाना, पाली, आँगनमा ल्याउने, खसाल्ने गर्थे। त्यसले झन फोहोर र दुर्गन्ध हुन्थ्यो।
त्यतिवेला कसैले बाँसबारीको नाम लिँदा ‘त्यो छाला गन्हाउने टोल’ भनेर हियाउने गर्थे। त्यसले झन पीडा दिन्थ्यो।
त्यो कारखानाका लागि उति वेलाको शहर असन, इन्द्रचोक, ठमेल, क्षेत्रपाटी लगायतका भित्री बस्तीका ब्यापारीबाट किनिएको राँगाको मासु, छाला लगायत कच्चा पदार्थको रुपमा ट्रकमा ओसारिन्थ्यो। त्यसबाट चुहिएको रगत सडक भरि हुन्थ्यो। केही समयपछि छोपेर, प्लास्टिकमा राखेर लग्ने व्यवस्था गरियो।
कारखानाबाट टोलबासीले पाएको सास्तीबारे कतै गुनासो, उजुरबाजुर गरेको कहिल्यै सुनिनँ। पञ्जायचकालमा उजुरी गरेको नसुनिएको वा उजुरी गर्ने आँट कसैले नगरेको हुनसक्छ। व मैले थाहा नपाएको पनि हुनसक्छ।
तर, त्यो अवस्थामा कहिल्यै सुधार आएन। सरकारले बाँसबारीबासीको दुःख कहिल्यै हेरेन, सम्बोधन गरेन।
ठ्याक्कै उस्तै नभए पनि अहिले सिसडोल र बन्चरेडाँडाका बासिन्दाले फोहोर ब्यवस्थापनप्रति गरेको प्रतिरोधले मलाई त्यहि बाल्यकालमा पु¥यायो ।
सिसडोल र बन्चरेडाँडाका बासिन्दाको जागरुकतालाई मैले कताकता आफ्नो बाल्यकालको सोहि समस्यासँग जोडेर हेर्दा प्रशंसा गर्न पुगेँ। अहिलेको जस्तो व्यवस्था हुन्थ्यो भने त्यतिवेला बाँसबारीबासी पक्कै पनि प्रतिरोध गर्थे होलान्।
भलै अहिले डम्पिङ साइट बनाइएको छ। वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गर्न खोजिएको छ। तर, समयमा योजना पूरा नहुँदा स्थानीय बासिन्दाले सास्ती खेपिरहेका छन्। अझ यसो भनौं सरकारले परोक्ष रुपमा सिसडोल र बन्चरेडाँडाबासीलाई दुख दिएको छ।
अहिलेको यो फोहोर डम्पिङ साइट र त्यति वेलाको छालाजुत्ता कारखानाको त्यो डम्पिङ साइटमा भने केहि फरक छैन। फरक के छ भने त्यतिवेला बाँसबारीबासी सहेर बसे, अहिले बन्चरेडाँडाबासी बिरोधमा उत्रिएका छन् ।
यसलाई त्यहाँका जनतामा आफ्नो स्वास्थ्य लगायत हकअधिकारको लागि प्रतिकार गर्न जागरुक भएको ठानेको छु।
तथापी, फोहोरमा राजनीति गर्नेहरूसँग भने सचेत हुनैपर्छ । स्थानीय बासिन्दाले पनि आफ्नो स्वास्थ्यको ख्याल गर्दै फोहोरमा राजनीति गर्नेसँग सजग रहनुपर्छ। साथै स्थानीय सरकार, संघीय सरकार तथा सबै सरोकारवाला पनि यसप्रति चनाखो रहनुपर्छ।
फोहोर व्यवस्थापनकै वाचा गरेर मेयरमा निर्वाचन बालेन्द्र साहलाई यो चुनौतिको रुपमा पहाड भएर खडा भएको छ। अहिले उनलाई यो समस्या सोचेजस्तो सहज रहेनछ भन्ने अनुभूति भइरहेको होला ।
तर, समाधान गर्न असम्भव भने पक्कै होइन। मात्र सम्बन्धित निकाय, जनताको एकापसमा संयोजन, बुद्धिमत्ता र प्रतिबद्धता अतिआवश्यक छ।
फोहोरको यो फोहोरी राजनीति यथाशक्य चाँडो सुल्झियोस्। र, काठमाडौंलाई सफा र सुन्दर बनाउँदा सिसडोल तथा बन्चरेडाँडाका बासिन्दाको स्वास्थ्यको पनि ख्याल गरियोस्।
प्रतिक्रिया दिनुहोस्