पर्यटनमन्त्री श्रेष्ठले पर्यटनको सम्भावना, पुनरुत्थान, चुनौती र समाधानका विषयमा नगर प्रमुखहरुसँग गरे छलफल

२० साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको पुनरुत्थान र प्रवर्द्धनबारे काठमाडौं उपत्यकामा रहेका महानगर र नगरपालिकाका प्रमुखहरुसँग छलफल गरेका छन् ।

मन्त्री श्रेष्ठले पर्यटनको सम्भावना, पुनरुत्थान, पर्यटन विकासका चुनौती र त्यसको समाधानका विषयमा महानगर र नगरपालिकाका प्रमुखहरुसँग छलफल गरेका हुन् ।

frontline

पर्यटन विकासका लागि तीनै तहका सरकारबीच समन्वय र एकीकृत योजना सहित अघि बढ्नुपर्ने मन्त्री श्रेष्ठले बताए । उनले पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने मन्त्रालयको कार्ययोजना सुनाउँदै उपत्यकाका महानगर र नगरपालिकाको पनि सामूहिक प्रतिवद्धता आवश्यक रहेको बताए । उनले कार्ययोजनामा रहेको स्थानीय तहसँग समन्वयमा गरिने बिषयहरुबारे जानकारी दिदै सहकार्य गरी अघि बढ्नुपर्ने बताए ।

पर्यटन पुनरुत्थान कार्ययोजनाअन्तर्गत काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्राको सुरुवात गर्ने योजना छ । साथै विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भुनाथ मन्दिर र हनुमानढोका दरबार क्षेत्रलाई सम्पदा पदयात्रामा जोड्ने, पर्यटकीय यातायातलाई सहज बनाउन निजी क्षेत्रको सहकार्यमा ‘होप अन हप अफ’ सिटी बस सञ्चालनमा ल्याउने योजना रहेको बताउँदै उनले स्थानीय तहबाट सहयोगको अपेक्षा गरे । महत्वपूर्ण पर्यटकीय स्थलहरुमा राष्ट्रिय सरसफाई अभियान संचालन गर्न लागिएको पनि उनले बताए ।

पर्यटन आगमन बिन्दुहरुमा शौचालय तथा विश्राम कक्ष निर्माण गर्ने, विमानस्थलदेखि उपात्यकामा मुख्य स्थानहरुमा विद्युतीय बस सञ्चालन गर्ने, उपत्यकाभित्रका मुख्य ऐतिहासिक सम्पदाहरु घुम्ने पर्यटकको सुविधाका लागि एकद्वार प्रणालीबाट प्रवेश अनुमति दिने, पर्यटक बसपार्क निर्माण गर्ने लगायत बिषयमा छलफल भएको थियो । साथै सो अवसरमा रात्रिकालीन पर्यटन प्रारम्भ र प्रवर्द्धनमा हुने चुनौतिबारे पनि छलफल भएको थियो ।

महानगर र नगरपालिकाका प्रमुखहरुले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन, पूर्वाधारका रूपमा पुरातात्विक तथा सांस्कृतिक पदमार्ग निर्माण, साइकलिङ र अन्य पर्यटन पुर्वाधार निर्माणमा हुनसक्ने सहकार्यबारे धारणा राखे । उनीहरुले सम्पदा र पर्यटकीय दृष्टिकोणले आफ्नो नगरपालिका क्षेत्रमा भएका सम्भावनाहरुबारे पनि जानकारी दिएका थिए । पर्यटकीय क्षेत्रको संरक्षण, पूर्वाधार विकास र व्यवस्थापनमा साझा योजनासहित अघि बढ्नुपर्नेमा उनीहरुले जोड दिए ।

काठमाडौं उपत्यकामा अनगन्ती मूर्त–अर्मूत संस्कृति र सम्पदाहरू रहेकोले त्यसको प्रवर्द्धनका लागि मन्त्रालयले स्थानीय सरकारहरुसँग समन्वय गरी अघि बढ्ने मन्त्री श्रेष्ठले बताए । छलफलमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, ललितपुर महानगरपालिका प्रमुख चीरिबाबु महर्जन, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन, टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी, दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेत लगायत उपस्थित थिए । मन्त्रालयले हालै पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना सार्वजनिक गरी कार्यन्वयन अघि बढाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here