पतिद्वारा पत्नीको हत्या गरी आत्मसमर्पण
११ असार, अर्घाखाँची । अर्घाखाँचीमा पतिले पत्नीको हत्या गरी आत्मसमर्पण गरेका छन् । जिल्लाको मालारानी गाउँपालिका २ डाँडाकटेरीका २७ वर्षका कमल भुसालले २७ वर्षीया पत्नी सरु भट्टराईको हत्या गरी इलाका प्रहरी कार्यालय खनमा आत्मसमर्पण गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँची अनुसार शुक्रबार दिउँसो करिब साढे २ बजे पतिपत्नी दुवैजना घरनजिकैको जंगलमा घाँस दाउरा लिन गएका थिए ।
जंगलमा पुगेर आफ्नै कम्मरमा बाँधेको गम्छाले पत्नीको घाँटीमा कसेर हत्या गरी नजिकैको खोल्सीमा स्याउलाले छोपेर कमलले ‘श्रीमतीको हत्या गरेँ’ भनेर आत्मसमर्पण गरेको अर्घाखाँची प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरीको टोली पुगेको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्