नौ महिनाकी छोरीको हत्याको अभियोगमा पितालाई मृत्युदण्ड
५ कात्तिक, म्याकलेस्टर (ओक्लाहोमा) । ओक्लाहोमामा नौ महिनाकी छोरीको हत्या गरेको अभियोगमा एक पितालाई २० वर्षपछि मृत्युदण्ड दिइएको छ ।
बेन्जामिन कोल गम्भीररूपमा मानसिक बिरामी भएको उनको वकिलहरूले दाबी गरेपनि ओक्लाहोमाको म्याकलेस्टर कारागारमा तीनवटा घातक औषधिको माध्यमबाट उनलाई मृत्युदण्ड दिइएको हो ।
गत वर्षदेखि ओक्लाहोमा राज्यमा मृत्युदण्डको सजाय पुनः लागू भएपछि मृत्युदण्ड पाउने उनी छैटौँ कैदी हुन् । स्टेचरमा बाँधिएका कोलले इशा मसीहलाई केही क्षण सम्झिएका थिए ।
त्यसपछि उनलाई दश बजेर छ मिनेट जाँदा घातक औषधि दिइएको थियो । दश बजेर १२ मिनेट जाँदा उनी बहोस् भइसकेका थिए ।
त्यसपछि पनि मृत्यु कक्षमा उनी घुरेको आवाज सुनिएको थियो । अन्ततः कारागार प्रशासनले १० बजेर २२ मिनेटमा उनलाई मृत घोषणा ग¥यो ।
कोलले सन् २००२ मा आफ्नी नौ महिनाकी छोरी ब्रायना कोललाई जबरजस्ती पछाडि झुकाएर उनको मेरुदण्ड भाँच्नका साथै रक्त धमनी च्यातेर मारेका थिए । गम्भीर रूपमा मानसिक बिरामी उनले उक्त अपराध गरेको उनका वकिलहरूले स्वीकार गरेका छन् ।
मृत्युदण्डबाट बचाउन राज्यको क्षमादान समितिसमक्ष गरिएको अपीलका पक्षमा एक मत परेका थियो भने विपक्षमा तीन जनाले मतदान गरेका थिए ।
नवजात शिशुको हत्याबाट पीडित भएका परिवारका सदस्यले समितिसमक्ष क्रुर हत्याका निम्ति कोलले मृत्युदण्ड पाउनुपर्ने दलिल प्रस्तुत गरेका थिए ।
भिडियो गेम खेलिरहेका बेला छोरी रोएपछि आक्रोशित भएका उनले शिशुको ज्यान लिएका थिए । अभियोजकहरूले पनि कोल गम्भीर मानसिक बिरामी नभएका र संविधान तथा न्यायशास्त्रमा उनको मृत्युदण्ड रोक्ने कुनै व्यवस्था नभएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्