नेप्सेमा सामान्य गिरावट, ३ अर्ब ४५ करोडको कारोबार
१९ पुस, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार दिनभर उतारचढाव देखिंदा अन्तिममा बजार परिसूचक नेप्से ३.०३ अंकले गिरावट भएर २०६१.०६ अंकमा बन्द भएको छ ।
गत बिहीबार ५६ अंक, आइतबार र सोमबार समान १७ अंकले बढेको नेप्सेमा मंगलबार भने करेक्सन भएको हो । व्यापार, लघुवित्त, होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसूचकमा वृद्धि भएपनि बैंकिङ, बीमा सहित अधिकांश उपसूचकमा गिरावट हुँदा नेप्से पनि समान्य घटेको छ ।
लघुवित्त उपसूचक २.४४ प्रतिशत, व्यापार उपसूचक २.८९ प्रतिशत र होटल तथा पर्यटन उपसूचक २.६ प्रतिशतले वृद्धि भएको छ ।यता वित्त कम्पनी र जीवन बीमा उपसूचक भने १ प्रतिशत भन्दा माथिले गिरावट भएको छ ।
उतारचढावबीच नेप्सेमा सामान्य गिरावट भएपनि कारोबार रकम भने सोमबारको भन्दा बढेको छ । आइतबार ४ अर्ब नाघेको कारोबार रकम सोमबार २ अर्ब ९६ करोडमा झरेको थियो । तर, मंगलबार भने कारोबार रकम बढेर ३ अर्ब ४५ करोड ८० लाख ९० हजार पुगेको छ ।
जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ४३ करोड १९ लाख ६४ हजारको कारोबार हुँदा एनआईसी एशिया बैंकको ९ करोड ६६ लाख ९५ हजार र शिवम् सिमेन्टको ९ करोड ४९ लाख १३ हजारको कारोबार भएको छ।
मंगलबार नेप्सेमा कुल २१२ कम्पनीको सेयर कारोबार भएकोमा १०२ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ भने १०७ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै ३ कम्पनीको सेयरमूल्य स्थिर छ ।
मंगलबार श्वेतगंगा हाइड्रोपावर, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त र अजोड इन्स्योरेन्सको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । यस्तै नेरुडे लघुवित्तको सेयरमूल्य ७.७३ प्रतिशतले वृद्धि भएको छ ।
यता वीन नेपाल लघुवित्तको सेयरमूल्य ५.५९ प्रतिशतले गिरावट हुँदा बोटलर्स नेपाल तपाईको सेयरमूल्य ५.५४ प्रतिशत र दोर्दी खोला जलविद्युत कम्पनीको सेयरमूल्य ३.४४ प्रतिशतले गिरावट भएको छ ।
प्रतिक्रिया दिनुहोस्