नेपाल प्रहरीको गाडी दुर्घटना, २ नायव उपरीक्षकसहित पाँचजना घाइते
२८ साउन, काठमाडौं । रुकुम पूर्वमा नेपाल प्रहरीको गाडी दुर्घटना हुँदा दुई प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन् ।
घाइते हुनेमा प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक रवीन्द्र श्रेष्ठसहित अन्य सुरक्षाकर्मी रहेका छन् ।
सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगंगा गाउँपालिकाको तकसेरा जाने क्रममा प्रहरीको गाडी पुथा उत्तरगंगा गाउँपालिका–११ तल्लो सेरामा दुर्घटनामा परेको हो ।
गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं–५ का नं वडाध्यक्ष टिकासाई घर्तीले जानकारी दिनुभयो ।
रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खस्दा डीएसपी डाँगीको टाउकोमा गहिरो चोट लागेको छ ।
प्रहरी जवान लक्ष्मण बुढा गम्भीर घाइते हुँदा रुकुम पूर्वका सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठ सामान्य घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्