‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध’

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जनकाँग्रेसको स्थायी समिति उपाध्यक्ष (उपसभामुख) सिआओ चीले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा भएको भेटमा चिनियाँ टोलीले भोलिदेखि काठमाडौँमा हुन लागेको सगरमाथा संवादको सफलताको कामना गरेको छ ।
साथै दुई देशबीचको लामो र मित्रवत् सम्बन्धलाई थप अभिवृद्धि गर्न चीन तत्पर रहेको बताउँदै उपाध्यक्ष सिआओले नेपालको विकास र समृद्धिमा चीनियाँ नेतृत्वको शुभेच्छा रहेको जानकारी दिनुभएको छ ।





त्यसैगरी प्रधानमन्त्री ओलीले दुई मुलुकबीच लामो समयदेखि मित्रवत र समस्यारहित हार्दिक सम्बन्ध रही आएको चर्चा गर्दै चीनले समग्र विकास र प्रविधिका क्षेत्रमा तीव्ररूपमा गरेको विकास र त्यसको विश्वव्यापी प्रभावबाट व्यक्तिगत रुपमा आफू प्रसन्न रहेको सुनाउनुभयो । उहाँले चिनियाँ राष्ट्रपति सी चीनफिङको पछिल्लो नेपाल भ्रमणको स्मरण उक्त भ्रमण बहुआमिक र ऐतिहासिक रहेको बताउनुभयो । भेटमा प्रधानमन्त्रीले नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
भेटका अवसरमा चिनियाँ प्रतिनिधिण्डलसँगै प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि चिनियाँ राजदूत छन सोङ, चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीहरुको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्