नेपालमै पहिलो पटक भद्रपुरमा अन्तर्राष्ट्रिय आमन्त्रण ५ ‘एस’ हक्की प्रतियोगिता हुँदै
झापा : नेपालमै पहिलो पटक झापाको भद्रपुरमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण ५ ‘एस’ हक्की प्रतियोगिता आयोजना हुने भएको छ। भद्रपुर नगर हक्की संघको आयोजनामा भद्रपुर नगरपालिका–९ स्थित श्री पुहाँतु जनज्योति माविको खेल मैदानमा आगामी कात्तिक १३, १४ र १५ गते प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
प्रतियोगितामा नेपालका ८, भारतका ३ र बंगलादेशका १ वटा गरी १२ वटा टोलीले सहभागिता जनाउने भद्रपुर नगर हक्की संघका अध्यक्ष सरोजकुमार बस्नेतले पत्रकार सम्मेलनमा जानकारी गराए। चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह मुख्य प्रयोजक रहेको प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रथम पुरस्कार ओम साई पाथीभरा हस्पिटल भद्रपुरका अध्यक्ष दीपक पोखरेल र दोस्रो पुरस्कार समाजसेवी भद्रपुर–९ निवासी राजकुमार राईले प्रायोजन गरेका हुन्।
विद्यालयको प्राङ्गणमा लामो समयदेखि सञ्चालन हुँदै आएको हक्की खेललाई थप व्यवस्थित र व्यावसायिक बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हक्की संघका नगर अध्यक्ष बस्नेतले बताए। प्रतियोगिताले यस क्षेत्रको हक्की खेलको विकास, खेलाडीको प्रतिभा पहिचान र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको उनको भनाई छ। प्रतियोगिताको अनुमानित बजेट ३० लाख रुपैयाँ रहेको छ। स्थानीय तह, स्थानीय उद्योग, कलकारखाना, सामाजिक संघसंस्था तथा खेल प्रेमीबाट स्वैच्छिक सहयोग जुटिरहेको संघका सल्लाहकार अनिल ढुङ्गानाले जानकारी दिए। संघले सदस्य विस्तार तथा प्रतियोगिता सञ्चालनका लागि विभिन्न १० वटा उपसमिति, मूल आयोजक समिति र सल्लाहकार समिति गठन गरेको उनले बताए। उनले भने, ‘प्रतियोगिताले भद्रपुरलाई हक्की खेलको पहिचानयुक्त क्षेत्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा छ।’






प्रतिक्रिया दिनुहोस्