नेपालगञ्ज पुर्‍याइएको प्रकरण : पाइलटभन्दा निगम व्यवस्थापन दोषी

९ मंसिर, काठमाडौं । विमानमा रहेका यात्रुलाई सकुशल गन्तव्यसम्म पुर्‍याउनु विमान सेवा प्रदायक र चालक दुवैको प्रमुख कर्तव्य हुन्छ ।

तर, मंगलवार नेपालमा सुन्दा पनि अचम्म लाग्ने खालको घटना भयो । रुकुमको सल्ले जानुपर्ने यात्रुलाई पाइलटको ड्युटी आवर सकिएको भन्दै नेपालगञ्जमा अवतरण गराइएको चर्चा छिनभरमा भुसको आगोझैँ फैलियो ।

frontline

सेवा प्रदायक थियो, नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम अनि पाइलट पेम्बा शेर्पा ।

रुकुमको सल्ले जानुपर्ने यात्रु नेपालगञ्ज पुर्‍याइएपछि विभिन्न किसिमका मिम बने । 

सामाजिक सञ्जालमा धेरैले पाइलटको आलोचना गरे । कतिपयले डाक्टरसँग तुलना गर्दै अपरेसन गर्दागर्दै डाक्टरको ड्युटी सकिए के होला भनेर हाँसीमजाकसँगै चिन्ता पनि व्यक्त गरे ।

घटना स्वाभाविक रूपमा यत्तिको ध्यान तान्ने र चर्चा पाउने खालको नै थियो ।

अधिकांशले पाइलटलाई मात्र आलोचना गरे पनि यो घटनाले नेपाल वायु सेवा निगमको खराब व्यवस्थापनलाई उजागर गरेकोतर्फ धेरैको ध्यानै गएन ।

निगमले बुधवार प्रेस विज्ञप्ति जारी गरेर उक्त प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गरेको छ।

हवाइ उड्डयनसम्बन्धी नियामक निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन/नेपाल नागरिक उड्डयन प्राधिकरणको उडानसम्बन्धी नियमले पाइलटको फ्लाइट ड्युटी अवधि दैनिक १० घण्टा हुने गरी तोकेको छ ।

उक्त ड्युटी आवरको सीमा अवधि सकिएको हुनाले रुकुमको सल्लेसम्म उडान नगर्ने, रुकुम जाने यात्रुलाई नेपालगञ्जमा एक रात होल्ड गरेर होटलमा राख्ने निर्णय गरेको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।

‘रुकुम र नेपालगञ्ज जाने यात्रुहरूलाई काठमाडौंमै राखिरहनुभन्दा नेपालगञ्जसम्म पुर्‍याएर रुकुम जाने यात्रुहरूलाई निगमको नियमानुसार होटलमा राखी भोलिपल्ट बिहानै रुकुम पुर्‍याउनुपर्ने निगमको बाध्यता र उचित निर्णय थियो,’ विज्ञप्तिमा भनिएको छ ।

विमान न्यून संख्यामा रहेकाले पनि अर्को दिनको उडान प्रभावित हुन नदिन त्यसो गर्नुपरेको प्रस्टीकरण निगमकी मिडिया सेल संयोजक अर्चना खड्काद्वारा जारी विज्ञप्तिमा दिइएको छ ।

यस्तो थियो प्रकरण

मंसिर ५ गते आइतवारका दिन बिहान ६:१५ बजेका लागि उडान हुने शेड्युल अनुसार उडान कर्मचारीहरूलाई बिहान ५:१५ बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोलाइएका थिए । तर मौसमको प्रतिकूलताका कारण काठमाडौं-सल्ले उडान हुन सकेन ।

दिउँसो मौसममा क्रमिक सुधार आएपछि निगम दिउँसो २:१५ बजे विमान उडाउने निर्णयमा पुग्यो ।

फर्किसकेका यात्रुहरूलाई फोन गरेर पुन: विमानस्थलमा बोलाइयो । तर सबै यात्रु र चालक दलका सदस्य विमानस्थल आइपुग्दा २:५८ भएको थियो।

‘काठमाडौं-रुकुम (सल्ले) उडान भरिसक्दा साँझको कम्तिमा ५ बज्ने अवस्था थियो,’ निगमको विज्ञप्तिमा भनिएको छ, ‘अर्कोतर्फ, बिहान ५:१५ बजेदेखि नै ड्युटी शुरू गरेका विमान चालकको ड्युटी आवर ४ बजे पूरा भइसक्ने र तोकिएको ड्युटी आवरभित्र रुकुम पुगेर नेपालगञ्ज फर्किन असमर्थ हुने अवस्था आएपछि नेपालगञ्जसम्म मात्र उडान भर्ने निर्णय भएको थियो ।’

यसबाट पनि के प्रस्ट हुन्छ भने चालकले ड्युटी सकियो भनेर बीचबाट प्लेन डाइभर्ट गरेर नेपालगञ्जतर्फ लगेका होइनन् । निगमले नै चालकको ड्युटी सकिन लागेको जान्दाजान्दै नेपालगञ्ज नै पठाउने भनेर उडान गराएको देखिन्छ ।

खराब मौसमका कारण रद्द गरिसकेको उडान पुनः सञ्चालन गर्दा चालकको ड्युटी सकिँदै छ भने ड्युटी बाँकी रहेका चालकलाई उडानका लागि पठाउन सकिन्थ्यो ।

निगम स्रोतका अनुसार चालकलाई नेपालगञ्ज नै लैजानु भन्ने निर्देशन थियो । जुन कुरा निगमको विज्ञप्तिबाट पनि पुष्टि हुन्छ ।

नेपाल वायु सेवा निगममा कार्यरत एक अनुभवी पाइलट उक्त घटनामा पाइलटको भन्दा बढी दोष निगमका फ्लाइट अपरेसन डाइरेक्टर दीपुराज ज्वार्चनको भएको बताउँछन् ।

‘त्यो दिन जहाज उडाउने पाइलटको टाइम आउट हुन्छ भनेर पहिलेदेखि नै थाहा थियो,’ उनले भने, ‘त्यस्तो अवस्थामा अपरेसन डाइरेक्टरले पहिले नै यो कुरा सार्वजनिक गर्नुपर्थ्यो । त्यसो गरेको भए यात्रुलाई पहिलेदेखि नै थाहा हुन्थ्यो।’

चालकले आफ्नो ड्युटी आवर सकिएपछि काम गर्दैनन् । त्यो आईकाओ र नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको मापदण्ड पनि रहेको हुनाले चालकको कुनै पनि दोष नरहेको उनको जिकिर छ ।

‘९ घन्टा बढीभन्दा बढी काम गर्ने हो, तर हाम्रो नेपालमा न्यून तलबमा पनि १० घण्टा, ११ घण्टासम्म चालकले काम गरिरहेका छन्,’ ती पाइलटले  भने ।

‘कि त त्यो दिन विमान उडाउनै हुन्थेन, उडाउने नै भए ड्युटीमा रहेका अरू कुनै पाइलट खटाउनुपर्थ्यो, अथवा नेपालगञ्ज नै लैजाने हो भने यात्रुहरूलाई शुरूमै यो कुरा जानकारी दिनुपर्थ्यो,’ निगमको व्यवस्थापकीय कमजोरी उल्लेख गर्दै एक कर्मचारीले थपे ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here